Logo

३० पौष, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता प्रक्रिया आज बुधबार बिहानदेखि सुरु भएको छ । पार्टीभित्रको आन्तरिक विवादका बीच भृकुटीमण्डपमा जारी महाधिवेशनले नयाँ कार्यसमिति चयनको प्रक्रियालाई अघि बढाएको हो ।

निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार उम्मेदवार मनोनयनका लागि आज बिहान ९:१५ बजेसम्मको समय तोकिएको छ । “मनोनयन दर्ता सकिएलगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचनका बाँकी प्रक्रियाहरू द्रुत गतिमा अगाडि बढाइनेछ,” संयोजक केसीले जानकारी दिए ।

विशेष महाधिवेशनले पार्टीको पुरानै विधानलाई आधार मानी नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको छ । यस प्रक्रियाअन्तर्गत कुल १३४ पदाधिकारी तथा सदस्य पदका लागि मतदान हुनेछ, जसमा १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १२१ केन्द्रीय सदस्य पद समावेश छन् । निर्वाचनलाई व्यवस्थित र निष्पक्ष बनाउन विशेष महाधिवेशनद्वारा पारित कार्यविधिअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ, जसले हाल उम्मेदवारी दर्तादेखि मतदानसम्मको सम्पूर्ण प्राविधिक र व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेको छ ।

४ हजार ६३५ मतदाता १४औँ महाधिवेशनमा कुल ४ हजार ७४३ मतदाता रहेका थिए । तर, सो समययता केही प्रतिनिधिको निधन भएको र केहीले पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेकाले हाल ४ हजार ६३५ जना महाधिवेशन प्रतिनिधिहरू मात्र मतदाताका रूपमा कायम रहेका छन्। उनीहरूले नै नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

संस्थापन पक्षले यो प्रक्रियालाई ‘अवैधानिक’ भन्दै सानेपामा छुट्टै बैठक बसिरहेको बेला भृकुटीमण्डपमा भने उत्साहका साथ उम्मेदवारी दर्ता भइरहेको छ । निर्वाचन समितिले सम्भव भएसम्म आजै मतदान गराउने तयारी गरेको बुझिएको छ ।


सम्बन्धित समाचार
भर्खरै