३० पौष, काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिँदै गएको विवाद निरूपणका लागि निर्णायक वार्ताको प्रयासस्वरूप महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सभापति शेरबहादुर देउवासँग भेट गर्न महाराजगन्ज पुगेका छन् ।
वार्ता समितिका सदस्य प्रदीप पौडेलका अनुसार टेलिफोन तथा अन्य नेताहरूको माध्यमबाट भएका छलफललाई अन्तिम रूप दिन महामन्त्रीद्वय देउवा निवास पुगेका हुन् । उनले बताएअनुसार यो भेटलाई विवाद समाधानको अन्तिम प्रयासका रूपमा हेरिएको छ ।
नेताहरूका अनुसार उक्त वार्तामा पनि सहमति जुट्न नसके दुवै समूह आ-आफ्नो बाटो लाग्ने निश्चितप्रायः रहेको छ । विशेषगरी सभापति देउवाले सक्रिय राजनीतिबाट संन्यास लिने विषय र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका उम्मेदवारहरूलाई दिने टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्ने विषयमा दुवै समूहबीच सहमति हुन सकेको छैन ।
यही विवादलाई कसरी टुंग्याउने भन्ने विषयमा शीर्ष तहमै अन्तिम छलफल हुन लागेको बताइए पनि दुवै पक्ष आफ्ना अडानमा अडिग रहेकाले सहमतिमा पुग्ने सम्भावना न्यून रहेको कांग्रेसका नेताहरूले बताएका छन् ।
विशेष महाधिवेशन र नेतृत्व चयन प्रक्रियासँगै कांग्रेसभित्रको शक्ति संघर्ष निर्णायक मोडमा पुगेको बेला भएको यो वार्तालाई पार्टीको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।













