Logo

३० पौष, काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक कलह वारपारको अवस्थामा पुगेका बेला सभापति शेरबहादुर देउवाले पार्टीको एकता रक्षाका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भावुक आग्रह गरेका छन् । बुधबार महाराजगन्जस्थित देउवा निवासमा भएको निर्णायक वार्तामा सभापति देउवाले आफू पार्टीको हितका लागि ‘हदैसम्म उदार’ हुन तयार रहेको सन्देश दिएका हुन् ।

वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री एवं नेता डा. प्रकाशशरण महतले सभापति देउवा पार्टी विभाजन रोक्न लचिलो रूपमा प्रस्तुत भएको जानकारी दिए। “पार्टी नफुटाउनुस्, म उदारताका साथ आउन तयार छु,” देउवाको भनाइ उद्धृत गर्दै महतले भने, “मेरो लागि टिकटमा हस्ताक्षर गर्ने कुरा महत्त्वपूर्ण होइन, पार्टीको विधि र विधान सम्मत जसले हस्ताक्षर गरे पनि भयो, मेरो तर्फबाट कुनै बाधा छैन ।”

पछिल्लो समय महामन्त्री पक्षले आगामी निर्वाचनमा उम्मेदवारलाई दिइने टिकटमा कार्यवाहक सभापतिले हस्ताक्षर गर्नुपर्ने मुख्य अडान राख्दै आएको थियो । यस विषयमा सभापति देउवाले लचकता देखाउँदै आफ्नो पद वा हस्ताक्षरको अधिकारभन्दा पार्टीको एकता ठूलो भएको बताएका हुन् । देउवाको यो पछिल्लो अभिव्यक्तिलाई कांग्रेसभित्रको ‘डेडलक’ अन्त्य गर्ने एउटा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

महामन्त्रीहरूको जवाफ: ‘प्रतिनिधिहरूसँग सल्लाह गर्छौँ’

सभापति देउवाको प्रस्तावपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्कालै कुनै अन्तिम निर्णय भने दिएका छैनन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनका प्रतिनिधिहरूको भावना बुझेर मात्र थप कदम चाल्ने उनीहरूले बताएका छन्। “हामी महाधिवेशन प्रतिनिधिहरूसँग सल्लाह गर्छौँ,” देउवासँगको भेटपछि महामन्त्रीद्वय गगनले भने।

भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया सुरु भइसकेको र सानेपामा संस्थापन पक्षको बैठक चलिरहेको संवेदनशील घडीमा भएको यो वार्ताले कांग्रेसको राजनीतिमा नयाँ मोड ल्याउन सक्ने देखिएको छ । सभापतिको उदारता र महामन्त्रीहरूको परामर्शले पार्टीलाई औपचारिक विभाजनबाट जोगाउँछ या दुवै समूह आ-आफ्नै बाटो लाग्छन् भन्ने कुरा अब केही घण्टाभित्रै प्रस्ट हुनेछ ।


सम्बन्धित समाचार