३० पुष, काठमाडौं । थाइल्याण्डको नाखोन रत्चासिमा प्रान्तमा बुधबार बिहान एउटा अत्यन्तै हृदयविदारक रेल दुर्घटना भएको छ ।
राजधानी बैंककबाट उबोन रत्चाथानीतर्फ जाँदै गरेको यात्रुवाहक रेलमाथि निर्माणाधीन उच्च गतिको रेल मार्गमा प्रयोग भइरहेको क्रेन अचानक खसेपछि सो भीषण दुर्घटना भएको हो । बैंककबाट करिब २३० किलोमिटर उत्तर–पूर्वमा पर्ने सिखियो जिल्लामा भएको यस घटनामा परी अहिलेसम्म कम्तीमा २२ जनाले ज्यान गुमाइसकेका छन् भने ५५ जना गम्भीर घाइते भएका छन् ।
प्रारम्भिक रिपोर्टहरूमा मृतकको संख्या न्यून देखिए तापनि उद्धार कार्य अघि बढ्दै जाँदा यो संख्या डरलाग्दो गरी बढ्दै गएको थाई प्रहरी र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
दुर्घटनाको प्रकृति निकै भयानक देखिएको छ । रेल गुडिरहेको बेला माथिबाट क्रेन खसेपछि रेलको केही भाग लिकबाट बाहिर उछिट्टिएको र लगत्तै आगलागी समेत सुरु भएको थियो । क्रेनको भारी वजन र रेलको गतिका कारण भएको टक्करले ठूलो क्षति पुर्याएको घटनास्थलमा रहेका उद्धारकर्मीहरूले बताएका छन् । स्थानीय प्रशासनका अनुसार आगलागीलाई केही समयमै नियन्त्रणमा लिइए पनि क्षतविक्षत भएका रेलका डिब्बाहरूभित्र यात्रुहरू च्यापिएको अवस्थामा रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।
अहिले दुर्घटनास्थलमा ठूलो संख्यामा उद्धारकर्मी र सुरक्षाकर्मी परिचालन गरिएको छ । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ भने थाइल्याण्डको यातायात मन्त्रालयले यस गम्भीर लापरबाहीका बारेमा उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएको छ । निर्माणाधीन क्षेत्रमा सुरक्षा मापदण्ड पालना भए वा नभएको बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। यस दुःखद घटनाले थाइल्याण्डको पूर्वाधार निर्माण क्षेत्रमा सुरक्षा सतर्कताको विषयमा पुनः नयाँ प्रश्न खडा गरिदिएको छ ।















