३० पुष, काठमाडौं । राजसंस्था स्थापनाको माग गर्दै ठूलो संख्यामा मोबाइल सन्देश पठाएर जनतालाई प्रभावित पार्न खोज्ने एक व्यवसायीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।
चितवन स्थायी घर भई हाल काठमाडौंमा गाडी व्यवसाय गर्दै आएका ३४ वर्षीय निर्देश सेढाईंलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति हात्तीसारबाट पक्राउ गरेको हो । सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी एटी अलर्ट मार्फत करिब ५० लाख मोबाइल प्रयोगकर्तालाई एकैपटक सन्देश पठाएर संवैधानिक राजसंस्था स्थापनाका लागि आह्वान गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका सेढाईंले पठाएको सन्देशमा मुलुकको विद्यमान प्रदेश संरचना खारेज गरी प्रत्यक्ष निर्वाचित कार्यकारी र सनातन संवैधानिक राजसंस्था स्थापना गर्नुपर्ने उल्लेख थियो । उनले सोही सन्देशमार्फत पुस ३० गते बुधबार दिउँसो १२ बजे बालुवाटारस्थित निषेधित क्षेत्रमा अनिश्चितकालका लागि भेला हुन सर्वसाधारणलाई निम्तो समेत दिएका थिए । ५० लाख मानिसलाई एकसाथ म्यासेज पठाएको कुरा सेढाईं स्वयंले स्वीकार गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिनुभएको छ ।
प्रहरीले उनलाई निषेधित क्षेत्रमा मानिस भेला गराउन उक्साएको र भ्रामक सन्देशमार्फत सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउन खोजेको अभियोगमा अनुसन्धान अघि बढाएको छ । राज्यका संरचना विरुद्ध जनतालाई उत्तेजित पारेको र सार्वजनिक हित विरुद्धको कसुर गरेको भन्दै उनीमाथि कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको छ । प्रविधिको दुरुपयोग गरी यति ठूलो परिमाणमा सन्देश पठाएको घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिँदै यसको अन्य प्राविधिक पक्षबारे पनि छानबिन गरिरहेको छ ।















