३० पुष, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र दुई समानान्तर गतिविधिको बीचमा संस्थापन पक्षले १५औं महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने प्रस्तावलाई अनुमोदन गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशनका लागि नयाँ कार्यतालिका तय गर्ने महत्वपूर्ण निर्णय गरेको हो । पार्टीको संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै नियमित वैधानिक प्रक्रियाबाटै अघि बढ्ने स्पष्ट संकेत दिएको छ ।
बैठकले पार्टीको संगठन सुदृढीकरण र आगामी चुनावी रणनीतिका लागि समेत नियमित महाधिवेशन अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। यो निर्णय यस्तो समयमा आएको छ, जतिबेला अर्कोतिर भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधर समूहले आफ्नै निर्वाचन कार्यक्रमहरू तीव्र गतिमा अघि बढाइरहेको छ । संस्थापन पक्षले सानेपाबाट वैधानिकताको दाबी गरिरहँदा भृकुटीमण्डपमा भइरहेको गतिविधिले पार्टीलाई दुई ध्रुवमा स्पष्ट रूपमा विभाजन गरिदिएको छ ।
विशेष महाधिवेशन पक्षधरले नेतृत्व परिवर्तन र पुस्तान्तरणको नारासहित उम्मेदवारी दर्ता गरिरहेका बेला संस्थापन पक्षको यो पछिल्लो निर्णयलाई रणनीतिक जवाफका रूपमा हेरिएको छ । सानेपा बैठकको यो अनुमोदनसँगै कांग्रेसभित्र अब नियमित कि विशेष भन्ने कानुनी र राजनीतिक लडाइँ झनै चर्किने निश्चित देखिएको छ । यसले कार्यकर्ताहरूमाझ अन्योल सिर्जना गरे पनि संस्थापन पक्ष भने आफ्नै कार्यतालिका अनुसार अघि बढ्ने मुडमा देखिएको छ ।















