Logo

३० पुष, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन समितिले संशोधित कार्यतालिका सार्वजनिक गरेसँगै भृकुटीमण्डपको राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ ।

बुधबार दिउँसो सार्वजनिक गरिएको नयाँ तालिका अनुसार, निर्वाचन प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाउँदै आजै राति मतदान सम्पन्न गर्ने तयारी गरिएको छ । निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनदेखि मतदानसम्मको समयसीमा तोकेको हो ।

संशोधित तालिका अनुसार, उम्मेदवारहरूको प्रारम्भिक नामावली दिउँसो ४ बजे सार्वजनिक गरिएको छ भने उम्मेदवारमाथि दाबी–विरोधका लागि ४ देखि ४स्३० बजेसम्मको समय दिइएको छ । त्यसपछि दाबी–विरोधमाथि छानबिन गरी साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । सबैभन्दा महत्वपूर्ण पक्ष, नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया आजै राति ८ बजे सुरु भई राति १ बजेसम्म चल्ने समितिले जनाएको छ ।

संस्थापन पक्षले सानेपामा समानान्तर बैठक गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याइरहँदा, विशेष महाधिवेशन पक्षधरले भने भृकुटीमण्डपबाटै नयाँ कार्यसमिति चयनको वैधानिक प्रक्रियालाई अन्तिम रूप दिन लागेका हुन् । विद्युतीय मेसिनको प्रयोग गरेर मतदान गरिने भएकाले मतदान सकिए लगत्तै गणना सुरु हुने र परिणाम पनि छिट्टै आउने अपेक्षा गरिएको छ । यो निर्वाचनले नेपाली कांग्रेसको भविष्य र नेतृत्वको स्वरूप कुन दिशामा जान्छ भन्ने निक्र्योल गर्नेछ ।


सम्बन्धित समाचार
भर्खरै