३० पुष, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधर समूहले विगतमा भएको सहमतिलाई उल्लंघन गर्दै पार्टीलाई धोका दिएको गम्भीर आरोप लगाउनुभएको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा आयोजित केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्दै खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको आपसी सहमतिमै निर्वाचन कार्यतालिका ल्याइएको भए पनि कार्यान्वयनको चरणमा पुग्दा सहमति तोडिएको गुनासो गर्नुभयो । तोकिएको समयमा काम नसकिएमा कार्यतालिका परिमार्जन गर्ने पूर्वसहमति भए तापनि त्यसलाई बेवास्ता गरी अघि बढ्नुले इमानदारितामाथि प्रश्न उठाएको र कतिपय गतिविधिहरू अवैध भएको उहाँको जिकिर छ ।
बैठकलाई सम्बोधन गर्दै कार्यवाहक सभापति खड्काले इतर पक्षले तीनवटा मुख्य अडानमा सम्झौता नगरेका कारण सहमतिको वातावरण बिग्रिएको खुलासा गर्नुभयो । महामन्त्रीहरूले विशेष गरी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुपर्ने, सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट सन्यास लिनुपर्ने र पार्टीमा शक्तिशाली ‘हाइकमाण्ड’ गठन गर्नुपर्ने मागमा अडान नछोडेकाले संवाद निष्कर्षमा पुग्न नसकेको उहाँले बताउनुभयो । अन्य अधिकांश मागहरू पूरा गर्न संस्थापन पक्ष तयार भए पनि यी तीन विषयमा सहमति जुट्न नसक्दा विवाद सुल्झिनुको साटो झन् बल्झिएको उहाँको भनाइ छ ।
वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै खड्काले पार्टीभित्रको यो शक्ति संघर्षले अन्ततः नेपाली कांग्रेसलाई विभाजनको मोडमा पुर्याउन सक्ने जोखिम रहेको औंल्याउनुभयो । सहमतिमा ल्याइएको कार्यतालिकामा धोका हुनु र विधान विपरीतका गतिविधिहरूले प्रश्रय पाउनुले पार्टी एकतामा गम्भीर संकट निम्त्याएको उहाँको तर्क छ । संस्थापन पक्षले सानेपाबाट आफ्नो अडान स्पष्ट पारिरहँदा र इतर पक्षले भृकुटीमण्डपबाट चुनावी प्रक्रिया अघि बढाइरहँदा कांग्रेस अब औपचारिक फुटको सँघारमा पुगेको संकेत खड्काको ब्रिफिङले गरेको छ ।














