Logo

३० पुष, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह अब सडक र सदनबाट निर्वाचन आयोगको ढोकासम्म पुगेको छ ।

पार्टी संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेलगत्तै सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगमा आधिकारिक पत्र दर्ता गराएको छ ।
आयोग पुगेको देउवा पक्षको टोलीले भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै कांग्रेसले हालसम्म कुनै पनि विशेष महाधिवेशन आयोजना नगरेको दाबीसहितको निवेदन पेस गरेको हो । संस्थापन पक्षले आयोगलाई बुझाएको पत्रमा पार्टीको विधानअनुसार आधिकारिक निकायबाट विशेष महाधिवेशनको कुनै निर्णय नभएको जिकिर गरिएको छ ।

भृकुटीमण्डपमा भइरहेका गतिविधिहरू पार्टीको विधि र पद्धति विपरीत केही व्यक्तिहरूको समूहले गरेको व्यक्तिगत कार्य भएको भन्दै त्यसलाई मान्यता नदिन संस्थापन पक्षले आग्रह गरेको छ । सानेपाबाट लाइभ ब्रिफिङ गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको रुख चिह्न र चारतारे झन्डा आफूहरूसँगै रहेको दाबी गरिरहँदा, यो पत्रले कांग्रेसको कानुनी लडाइँलाई औपचारिक रूपमा निर्वाचन आयोगमा प्रवेश गराएको छ ।

अर्कोतर्फ, कारबाहीमा परेका महामन्त्री गगन थापाले आफूहरू नै आधिकारिक कांग्रेस भएको र कार्यकर्ताको भावना भृकुटीमण्डपमा रहेको भन्दै प्रतिवाद गरेका छन् । देउवा पक्षले आयोगमा पत्र पठाएर विशेष महाधिवेशनको अस्तित्वलाई नै अस्वीकार गरेपछि अब पार्टीको वैधानिकता र चुनाव चिह्नको विषयमा आयोगको निर्णय निर्णायक हुने देखिएको छ ।

यस घटनाले नेपाली कांग्रेसको झन्डै आठ दशक लामो इतिहासमा आधिकारिकताको ठूलो संकट निम्त्याएको छ, जसले गर्दा आम कार्यकर्तामाझ अन्योल र आक्रोश थप चुलिएको छ ।


सम्बन्धित समाचार
भर्खरै