Logo

३० पुष, काठमाडौँ । नेपाली कांग्रेसको राजनीतिले यतिबेला एउटा ऐतिहासिक र नाटकीय मोड लिएको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनबाट केहीबेरमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषणा गर्ने तयारी गरिएको छ। तर, यसैबीच पार्टीभित्रको आन्तरिक कलह उत्कर्षमा पुग्दा कांग्रेस औपचारिक विभाजनको सँघारमा पुगेको सङ्केत देखिएको छ।

पार्टी सभापति शेरबहादुर देउवा पक्ष (संस्थापन पक्ष) ले पार्टीमा विद्रोह गरेको भन्दै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा सह–महामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। यो कदमसँगै नेपाली कांग्रेसभित्रको शक्ति सङ्घर्षले विभाजनको रूप लिएको हो।

संस्थापन पक्षले प्रभावशाली नेताहरूलाई कारबाही गरेपछि विशेष महाधिवेशनमा सहभागी भएका नेताहरू नयाँ नेतृत्व चयनको प्रक्रियामा जुटेका छन्। नेता गुरुराज घिमिरेका अनुसार, केही समयभित्रै विशेष महाधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्वको घोषणा गर्नेछ।

अहिले नेतृत्वको विषयमा सहमति जुटाउन कमलपोखरीस्थित एउटा होटलमा नेताहरूको घनीभूत आन्तरिक छलफल चलिरहेको छ। उक्त छलफलमा पार्टीबाट निष्कासित गरिएका महामन्त्री गगन कुमार थापा आफैँ सहभागी हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। छलफलमा थापासँगै नेताहरू प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे, डिल्लिराम सुवेदी लगायतका प्रभावशाली युवा नेताहरूको उपस्थिति रहेको छ।

आइतबारदेखि सुरु भएको यो विशेष महाधिवेशनले कांग्रेसको भविष्य कता जान्छ भन्ने निक्र्योल गर्ने देखिएको छ। एकातिर संस्थापन पक्षले कारबाहीको अस्त्र प्रयोग गर्नु र अर्कोतिर भृकुटीमण्डपबाट नयाँ नेतृत्व घोषणाको तयारी हुनुले कांग्रेस अब दुई धारमा स्पष्ट रूपमा विभाजित भएको पुष्टि गर्दछ।

भृकुटीमण्डपमा भेला भएका कार्यकर्ताहरूमाझ उत्साह र अन्योल दुवै देखिएको छ। केहीबेरमा घोषणा हुने नयाँ कार्यसमितिले पार्टीको वैधानिकता र भविष्यका बारेमा थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै