१ माघ, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । पुस २७ गतेदेखि राजधानीको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले थापाको सभापतित्वमा १३ पदाधिकारीसहित १ सय ६६ सदस्यीय केन्द्रीय कार्यसमितिको घोषणा गरेको हो ।
महाधिवेशनले दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई निर्वाचित गरेको छ । त्यसैगरी, पार्टीको महत्वपूर्ण पद महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।
समावेशी सिद्धान्तलाई आत्मसाथ गर्दै घोषणा गरिएको नयाँ कार्यसमितिमा आठ जना सहमहामन्त्रीहरू विभिन्न क्लस्टरबाट निर्विरोध चयन भएका छन् । जसअनुसार खस आर्यबाट उदय शमशेर राणा, आदिवासी-जनजातिबाट बहादुर सिंह लामा, महिला कोटाबाट डिला संग्रौला र मधेसी क्लस्टरबाट मुक्ताकुमारी यादव सहमहामन्त्री चुनिएका छन् । त्यसैगरी, मुस्लिम समुदायबाट फरमुल्लाह मंसुर, दलितबाट प्रकाश रसाइली, थारुबाट योगेन्द्रसिंह चौधरी र पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै कर्णबहादुर बुढा सहमहामन्त्रीमा चयन भएका छन् ।
नयाँ कार्यसमिति १६६ सदस्यीय रहने भए तापनि सबै सदस्यहरूको पदपूर्ति भइसकेको छैन । विधानअनुसार ३४ जना केन्द्रीय सदस्यहरू अझै मनोनीत हुन बाँकी छ । साथै, पार्टीको प्रभावशाली पद कोषाध्यक्षको चयन भने सभापतिको प्रस्तावमा केन्द्रीय समितिले पछि गर्ने व्यवस्था रहेको छ ।
पार्टीभित्रको आन्तरिक एकता र युवा पुस्ताको हस्तक्षेपकारी उपस्थितिलाई मध्यनजर गर्दै यस पटकको महाधिवेशनले ‘सर्वसम्मत’ नेतृत्व चयनलाई प्राथमिकता दिएको हो । महाधिवेशन स्थल भृकुटीमण्डपमा नयाँ कार्यसमिति घोषणा हुँदा कार्यकर्ताहरूले उत्साहजनक स्वागत गरेका थिए ।















