Logo

१ माघ, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्ने गगन थापा नेतृत्वको समूहले पार्टीको आधिकारिक अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोगको ढोका ढकढक्याउँदैछ ।

बुधबार सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति चयन गरेपछि सोही निर्णयलाई कानुनी मान्यता दिलाउन यो समूह सक्रिय भएको हो । आज बिहान बस्ने नयाँ कार्यसमितिको पहिलो बैठकले गर्ने विशेष निर्णयहरूसहित यो समूह दिउँसो निर्वाचन आयोग पुग्ने कार्यक्रम तय भएको छ ।

अधिवक्ता राजु कटवालका अनुसार विशेष महाधिवेशनका सम्पूर्ण कागजात, प्रतिनिधिहरूको उपस्थिति र नेतृत्व चयनको विवरणसहित टोली मध्याह्न १२ देखि १ बजेको बीचमा आयोग जाने तयारीमा छ । पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानहरूलाई टेक्दै गरिएको भनिएको यो महाधिवेशनको अभिलेख दस्तावेजीकरणका लागि कानुनी टोलीले आवश्यक सहजीकरण गरिरहेको छ । आयोगमा बुझाइने यो दस्ताबेजले कांग्रेसको आधिकारिकता र भावी राजनीतिक हैसियतको निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।

कांग्रेसको यो आन्तरिक विभाजनले अहिले नेपाली राजनीति तरंगित बनेको छ । एकातर्फ विशेष महाधिवेशन पक्षले नयाँ नेतृत्व घोषणा गरिरहँदा अर्कोतर्फ संस्थापन पक्षले अनुशासन उल्लंघनको आरोपमा गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरिसकेको छ । संस्थापन पक्षले यस महाधिवेशनलाई अवैध ठहर गरिरहेका बेला गगन–विश्व समूहले भने आयोगमार्फत आफ्नो समूहलाई नै आधिकारिक कांग्रेसका रूपमा स्थापित गर्ने रणनीति लिएको छ । दुवै पक्षबीचको यो टकरावले अब निर्वाचन आयोग र अदालतसम्मको यात्रा तय गर्ने निश्चित देखिएको छ ।


सम्बन्धित समाचार