Logo

१ माघ, काठमाडौं । लगातार पाँच दिनसम्म अनियन्त्रित गतिमा उकालो लागेर नयाँ कीर्तिमान कायम गरेको सुनको बजारमा आज माघ १ गते बिहीबार भने केही राहत देखिएको छ ।

पछिल्लो समय दैनिकजसो मूल्य वृद्धिको नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउमा आज ठूलो गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

गत बुधबार मात्रै सुनको मूल्य हालसम्मकै उच्च बिन्दु २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो। गत शुक्रबारदेखि हिजोसम्मको तथ्याङ्क हेर्दा सुनको मूल्यमा अस्वभाविक वृद्धि देखिएको थियो, जसमा शुक्रबार २ हजार १ सय, आइतबार २ हजार ८ सय, सोमबार ४ हजार १ सय र मंगलबार १ हजार ८ सय रुपैयाँको वृद्धि भएको थियो । यसरी पाँच दिनको छोटो अवधिमै प्रतितोला १२ हजार ३ सय रुपैयाँले महँगिएको सुनको मूल्यमा आज आएको गिरावटले बजारमा केही स्थिरताको संकेत गरेको छ ।

सुनसँगै चाँदीको बजारमा पनि आज उल्लेख्य गिरावट देखिएको छ । हिजो बुधबार मात्रै प्रतितोला ३ सय १५ रुपैयाँले बढेर ऐतिहासिक उचाइ ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको चाँदीको भाउ आज भने १७० रुपैयाँले सस्तिएको छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँमा भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै प्रभाव नेपाली बजारमा देखिएको व्यवसायीहरूको भनाइ छ ।


सम्बन्धित समाचार