Logo

१ माघ, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको नयाँ कार्यसमितिलाई वैधानिकता दिन निर्वाचन आयोगसँग आग्रह गर्नुभएको छ ।

बिहीबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर थापा नेतृत्वको टोलीले राजनीतिक दलसम्बन्धी ऐनको प्रावधानअनुसार पदाधिकारीसहितको परिवर्तित विवरण अद्यावधिक गर्न औपचारिक निवेदन दर्ता गराएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरूसँगको भेटमा सभापति थापाले विधानसम्मत रूपमा विशेष महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन भएकाले यसलाई छिटोभन्दा छिटो अभिलेखमा चढाउन अनुरोध गर्नुभयो ।

टोलीमा पार्टीका नवनिर्वाचित उपसभापतिहरू विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायतका शीर्ष नेताहरूका साथै वरिष्ठ कानुनविद्हरूको समेत सहभागिता रहेको थियो । पार्टीभित्रको आन्तरिक विवाद र संस्थापन पक्षको दाबीका बीच कानुनी आधार बलियो बनाउन वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल र यदुनाथ खनालले आयोगका पदाधिकारीहरूलाई महाधिवेशनको वैधानिकता र कानुनी प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । सभापति थापाले आयोगमा आवश्यक सबै कागजात र विवरण पेश गरिसकिएको बताउँदै अबको निर्णय आयोगको हातमा रहेको स्पष्ट पार्नुभयो ।

विशेष महाधिवेशन पक्षधरले आयोगमा आफ्नो आधिकारिकता दाबी गरिरहँदा आयोगले भने निवेदन स्वीकार गरे पनि तत्काल कुनै ठोस प्रतिक्रिया दिएको छैन । कांग्रेसको इतिहासमा नेतृत्वलाई लिएर देखिएको यो असाधारण परिस्थितिले निर्वाचन आयोगलाई पनि गम्भीर कानुनी परीक्षणमा उभ्याएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्विकार गरिरहेको सन्दर्भमा गगन थापा नेतृत्वको यो टोलीको दौडधुपले आगामी दिनमा कांग्रेसको चुनाव चिह्न र आधिकारिकता कसको पक्षमा रहने भन्ने विषयलाई थप पेचिलो बनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै