Logo

१ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजिरहेको टिप्पणी गरेका छन्।

४२औँ पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली युवाहरू केही हदसम्म बाटो बिराउन खोजिरहेको धारणा व्यक्त गरे। उनले युवाहरूले देश पढ्न, बुझ्न र देशलाई कतातर्फ लैजान खोजिँदैछ भन्ने विषयमा गम्भीर हुनुपर्ने बताए।

युवालाई लक्षित गर्दै ओलीले भने, “नेपालका युवा अलिकति बाटो बिराउन खोजिरहेका छन्। इतिहासलाई आफ्नै उमेरबाट मात्र नाप्ने गल्ती नगर्नुहोस्। इतिहास लामो हुन्छ। देश पढ्नुस्, देश बुझ्नुस् र यो देशलाई के गर्न खोजिँदैछ भन्ने कुरा बुझ्ने प्रयास गर्नुस्।”

अध्यक्ष ओलीले विभिन्न प्रकारका ठग र लुसिफरहरू युवालाई प्रभावमा पार्न सक्रिय रहेको दाबी गर्दै उनीहरूका सपना पूरा नहुने स्पष्ट पारे।
“अहिले सबै प्रकारका ठगहरू, लुसिफरहरूले धेरै धाक नलगाए हुन्छ। तिनका सपना पूरा हुने छैनन्,” उनले भने।

कार्यक्रममा ओलीले रास्वपा प्रवेश गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित संकेत गर्दै आफूविरुद्ध चुनाव लड्न तामझाम भइरहेको टिप्पणी पनि गरे।

“कोही–कोही केपी ओलीसँग चुनाव लड्न जान्छु भनेर तामझाम गर्दै हिँडेका छन्। हामीले नचिन्ने–नचिन्ने खालका नोट बोकेर निर्वाचन क्षेत्रहरूमा पुगेका छन्,” ओलीले भने।

अध्यक्ष ओलीको यो टिप्पणी आफू निर्वाचन लड्दै आएको झापा क्षेत्र नम्बर ५ बाट बालेन शाह उम्मेदवार बन्ने तयारीमा रहेको खबर सार्वजनिक भइरहेका बेला आएको हो।


सम्बन्धित समाचार
भर्खरै