Logo

२ माघ, काठमाडौँ । नेकपा (एमाले) ले आगामी निर्वाचनलाई लक्षित गरी माघ ४ गतेदेखि औपचारिक रूपमा चुनावी अभियान सुरु गर्ने निर्णय गरेको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौँको प्रज्ञा भवनमा विशेष कार्यक्रम गरी अभियानको शङ्खघोष गर्न लागिएको हो ।

एमाले बागमती प्रदेश उपसचिव भक्तकुमारी लामाका अनुसार अभियानको सुरुवात भृकुटीमण्डपबाट हुनेछ । भृकुटीमण्डपबाट सुरु हुने जुलुस कमलादीस्थित प्रज्ञा भवन पुगेर सभामा परिणत हुने जानकारी दिइएको छ ।

बागमती प्रदेश कमिटीले यस सभा मार्फत प्रदेश अन्तर्गतका १८ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने सङ्कल्प गर्नेछ । उपसचिव लामाले भन्नुभयो, “हामीले प्रज्ञा भवनमा गर्ने सभाबाट बागमती प्रदेशका सबै निर्वाचन क्षेत्रमा एमालेको जित सुनिश्चित गर्ने घोषणा गर्नेछौँ ।”

यस देशव्यापी चुनावी अभियानको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । अध्यक्ष ओलीले सम्बोधन गर्ने यस कार्यक्रमलाई एमालेले आसन्न निर्वाचनको तयारी र कार्यकर्ता परिचालनको मुख्य कडीका रूपमा लिएको छ ।

एमालेको साङ्गठनिक संरचना अनुसार बागमती प्रदेश कमिटीले राजधानीका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) बाहेकका अन्य जिल्लाहरूलाई समेटेको छ । यी जिल्लाहरूमा पार्टीको पकड मजबुत बनाउन र निर्वाचनको माहौल सिर्जना गर्न यो अभियान निर्णायक हुने एमाले नेताहरूको दाबी छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमालेले सुरु गर्न लागेको यो अभियानलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।


सम्बन्धित समाचार