Logo

२ माघ, काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगमा दौडधुप तीव्र बनेको छ ।

पार्टीका संस्थापन पक्ष अर्थात् शेरबहादुर देउवा समूहका नेता तथा कार्यकर्ताहरू आज निर्वाचन आयोग पुगेर आफ्नो दाबी प्रस्तुत गरेका छन् । विशेष महाधिवेशनमार्फत गगन थापा सभापति चुनिएपछि सिर्जित परिस्थितिलाई लिएर आयोगले छानबिन गरिरहेका बेला देउवा पक्षले आफ्नो उपस्थिति जनाएको हो । आयोग पुगेका नेता कल्याण गुरुङले केन्द्रीय समितिका पदाधिकारी, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको टोलीसहित आफूहरू आफ्ना धारणा राख्न आएको जानकारी दिएका छन् ।

पार्टीभित्रको यो विवाद गत पुस २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनपछि सतहमा आएको हो। उक्त महाधिवेशनले गगन थापालाई नयाँ सभापतिका रूपमा चयन गरेपछि देउवा पक्षले त्यसलाई वैधानिकता दिन इन्कार गर्दै आएको छ। हाल देउवा र थापा दुवै पक्षले आफू नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । देउवा पक्षले त कांग्रेसले कुनै विशेष महाधिवेशन नै नगरेको जिकिरसहितको पत्र समेत आयोगमा बुझाइसकेको छ, जसका कारण आयोगलाई यो विवाद सुल्झाउन कानुनी र प्राविधिक चुनौती थपिएको छ ।

यसैबीच, विकसित राजनीतिक घटनाक्रमका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्न संस्थापन पक्षले आजै पत्रकार सम्मेलनको आयोजना गरेको छ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेका हुन्। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा हुने उक्त सम्मेलनमार्फत देउवा पक्षले भावी रणनीति र कानुनी उपचारका विषयमा प्रष्ट पार्ने तयारी गरेको छ ।

निर्वाचन आयोगले दुवै पक्षको निवेदनउपर सूक्ष्म अध्ययन र छानबिन भइरहेको जनाएको छ। पार्टी विभाजनको संघारमा पुगेको यो अवस्थाले आसन्न निर्वाचन र राष्ट्रिय राजनीतिमा समेत ठूलो हलचल पैदा गरेको छ । एकातिर गगन थापा नेतृत्वको टोलीले आफूहरू विधानसम्मत आएको दाबी गरिरहेको छ भने अर्कोतर्फ देउवा पक्षले संगठन र कानुनी प्रक्रियामा आफ्नो पकड बलियो रहेको सन्देश दिन खोजिरहेको छ । आयोगको फैसलाले नै अब नेपाली कांग्रेसको आधिकारिक नेतृत्व र भविष्यको दिशा तय गर्ने देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै