२ माघ, काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आधिकारिकताको रस्साकस्सीका बीच निर्वाचन आयोगले आफ्नो संवैधानिक भूमिका र कानुनी दायरालाई प्रष्ट पारेको छ ।
पार्टीको संस्थापन (देउवा) पक्षले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले कसैको प्रभावमा नपरी विशुद्ध विधिसम्मत निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । शुक्रबार कान्तिपथस्थित आयोगको कार्यालय पुगेका देउवा पक्षीय शीर्ष नेताहरूको टोलीलाई सम्बोधन गर्दै उहाँले आयोगले गर्ने हरेक फैसला संविधान र प्रचलित ऐन–कानुनको परिधिभित्रै रहेर हुने स्पष्ट पार्नुभयो ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आयोग पुगेको टोलीले पार्टीको वैधानिकतामा कुनै द्विविधा नरहेको र गगन थापा पक्षले गरेको भनिएको ुविशेष महाधिवेशनु लाई कांग्रेसले नचिन्ने अडान दोहोर्याएको थियो । उनीहरूले निर्वाचन आयोगलाई गुमराहमा राख्न खोजिएको भन्दै १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको जिकिर गरेका थिए । जवाफमा आयुक्त भण्डारीले आयोगले प्राप्त निवेदन र प्रमाणहरूको गहन विश्लेषण गरिरहेको बताउँदै विधि र पद्धतिबाहिर गएर कुनै पनि कदम नचालिने आश्वासन दिनुभयो । साथै, उहाँले आसन्न निर्वाचन कार्यतालिका अनुसारका प्रक्रियामा कांग्रेस सहभागी हुनेमा आयोग विश्वस्त रहेको समेत बताउनुभयो ।
यसअघि नै गगन थापा नेतृत्वको समूहले आयोग पुगेर विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दर्ता गराइसकेको छ । थापा पक्षले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्रमा नयाँ सभापतिका रूपमा गगन थापाकै हस्ताक्षर चल्नुपर्ने माग गरेको छ । पुस अन्तिम साता काठमाडौँमा सम्पन्न उक्त महाधिवेशनले नेतृत्व परिवर्तनको घोषणा गरेपछि कांग्रेसभित्र दुईवटा समानान्तर शक्ति केन्द्रहरू खडा भएका छन्, जसले गर्दा निर्वाचन आयोग अहिले गम्भीर कानुनी दबाबमा परेको छ ।
मनोनयन दर्ताको समय नजिकिँदै गर्दा दुवै पक्षले आ–आफ्नो दाबीलाई बलियो बनाउन आयोगमा प्रमाणहरूको चाङ लगाएका छन् । एकातिर विधि र प्रक्रियाको दुहाई दिने संस्थापन पक्ष छ भने अर्कोतिर बहुमत र विशेष महाधिवेशनको राप बोकेको थापा पक्ष रहेको छ । आयोगले अब कुन पक्षको तर्क र कागजातलाई कानुनी रूपमा ग्राह्य मान्छ भन्ने कुराले नै मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दलको भविष्य र आसन्न चुनावमा उसको उपस्थितिको स्वरूप तय गर्नेछ ।















