२ माघ, काठमाडौं । विकासको लहरमा द्रुत गतिले अघि बढिरहेको भरतपुर महानगरपालिकाले आज एक भव्य समारोहका बीच आफ्नो नवनिर्मित अत्याधुनिक प्रमुख प्रशासकीय भवन प्राप्त गरेको छ ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ६ तले यस आकर्षक भवनको औपचारिक उद्घाटन गर्नुभयो । करिब दुई वर्षअघि आफैँले शिलान्यास गरेको यस गौरवमय संरचनाको उद्घाटन गर्दै उहाँले भरतपुरको विकास मोडल देशभरकै लागि प्रेरणाको स्रोत बनेको चर्चा गर्नुभयो ।
करिब ५३ करोड ३२ लाख ६४ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो भवन संघीयताको सुन्दर समन्वयको नमुनासमेत बनेको छ। यसमा संघीय सरकार, बागमती प्रदेश र महानगरपालिका गरी तीनै तहको संयुक्त लगानी रहेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार, पुरानो जीर्ण भवनबाट सेवा प्रवाहमा कठिनाइ भइरहेको र गत भदौमा भएको तोडफोडले झनै समस्या पारेको अवस्थामा यो नयाँ भवन भरतपुरवासीका लागि बरदान सावित हुनेछ । झण्डै १०० वर्षको आवश्यकतालाई मध्यनजर गर्दै पूर्ण अपाङ्गमैत्री शैलीमा निर्माण गरिएको यस भवनले महानगरका सबै छरिएका सेवाहरूलाई एउटै छानोमुनि ल्याउनेछ ।
७ कठ्ठा जमिनमा फैलिएको यो विशाल भवनभित्र २२१ वटा कोठा र ८ वटा सुविधासम्पन्न बैठक कक्षहरू रहेका छन् । भवनको भुइँतलामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष राखिएको छ भने दोस्रो तलामा उपप्रमुखको कार्यकक्ष रहेको छ । ५० वटा कार र १५० मोटरसाइकल अट्ने भूमिगत पार्किङ, २ वटा लिफ्ट, २५० र ३५० क्षमताका ठूला सभाहलहरू, पुस्तकालय र सांस्कृतिक प्रदर्शनी कक्षले भवनलाई थप विशिष्ट बनाएको छ । सबैभन्दा माथिल्लो तलामा रहने अडिटोरियम हल र सांस्कृतिक संग्रहालयले भरतपुरको पहिचानलाई झल्काउने अपेक्षा गरिएको छ ।
भवन निर्माणका लागि पर्याप्त जग्गा नभएपछि नेपाल नेत्र ज्योति संघसँगको कठिन र मेहनतपूर्ण समन्वयपछि थपिएको जग्गामा यो संरचना ठडिएको हो । निर्माण कम्पनी शर्मा–सगरमाथा–सगुन जेभीका अनुसार नेपालको मौलिकता झल्किने गरी तयार पारिएको यो भवन सम्भवतः स्थानीय तहकै उत्कृष्टमध्येको एक हो । नगर प्रमुख दाहालले महानगरको गौरवको रूपमा रहेको यो भवनबाट अब छिटो, छरितो र स्तरीय सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभएको छ ।















