Logo

२ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

महानगरको सुरक्षा र सुशासन कार्यान्वयनमा लामो समयदेखि सक्रिय रहनुभएका पाण्डेले आगामी माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा पत्र बुझाउनुभएको हो । उहाँले माघ ३ गतेसम्म मात्रै आफ्नो जिम्मेवारी सम्हाल्ने र त्यसपछि पदबाट मुक्त हुने जानकारी दिनुभएको छ ।

महानगर प्रहरीको नेतृत्वमा रहेर फुटपाथ व्यवस्थापन, अनधिकृत संरचना हटाउने लगायतका चुनौतीपूर्ण कार्यहरूमा आक्रामक रूपमा प्रस्तुत हुँदै आउनुभएका पाण्डे अब प्रत्यक्ष राजनीतिमा लाग्ने मुडमा देखिनुभएको छ । उहाँले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने उद्देश्यका साथ सरकारी सेवाबाट बिदा लिन लाग्नुभएको बुझिएको छ । निर्वाचनमा सहभागी हुन पदबाट राजीनामा दिनुपर्ने कानुनी प्रावधान अनुसार उहाँले यो निर्णय लिनुभएको हो ।

पाण्डेको राजीनामासँगै काठमाडौँ महानगरपालिकामा नयाँ प्रहरी प्रमुखको खोजी र नियुक्तिको प्रक्रिया समेत सुरु हुने देखिएको छ । महानगरका विभिन्न अभियानहरूमा प्रमुख बालेन शाहको विश्वासिलो पात्रका रूपमा चिनिनुभएका पाण्डेको बहिर्गमन र उहाँको भावी राजनीतिक यात्रालाई अहिले निकै चासोका साथ हेरिएको छ । उहाँले कुन दलबाट वा स्वतन्त्र रूपमा चुनाव लड्ने भन्ने विषयमा भने आधिकारिक रूपमा स्पष्ट पारिसक्नुभएको छैन ।


सम्बन्धित समाचार
भर्खरै