Logo

२ माघ, काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित एसबीआई बैंकको शाखामा भएको करोडौँको लुटपाट प्रकरणमा एक सनसनीपूर्ण तथ्य बाहिर आएको छ ।

प्रहरीको सूक्ष्म अनुसन्धानबाट बैंक रहेको घरका धनी छविलाल स्याङ्तान नै लुटपाटको मुख्य योजनाकार र मतियार रहेको पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रबार पत्रकार सम्मेलन गर्दै घरधनी स्याङ्तानसहित ७ जनालाई पक्राउ गरी उनीहरूको भूमिकाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार यो लुटपाटको योजना २०८२ असोजदेखि नै बुनिएको थियो । घरधनी स्याङ्तान र स्थानीय चतुरमान बज्युले बैंकको वस्तुस्थितिबारे सूचना संकलन गरी लुटपाटको खाका तयार पारेका थिए । अचम्मको कुरा त के छ भने, लुटेराहरूले बैंक लुट्नका लागि नक्कली प्लास्टिकको पेस्तोल र खुकुरीको प्रयोग गरेका थिए, जसको व्यवस्थापन घरधनी स्याङ्तानले नै गरिदिएका थिए । पुस २९ गते साँझ मङ्की टोपी लगाएर आएका लुटेराहरूले तिनै नक्कली हतियारको भरमा कर्मचारीलाई त्रसित बनाएर बैंकको ढुकुटी रित्याएका थिए ।

अनुसन्धानबाट खुलेअनुसार लुटेराहरूले पहिलो प्रयास असफल भएपछि दोस्रो पटकमा सफलता पाएका थिए। पुस २३ गते काठमाडौँबाट मोटरसाइकलमा गएका उनीहरू अनुकूल वातावरण नमिलेपछि फर्केका थिए। पछि २९ गते कोटेश्वरमा भेला भई बनेपासम्म सार्वजनिक यातायात र त्यहाँबाट टाटा सुमो रिजर्भ गरेर उनीहरू सिन्धुली पुगेका थिए। प्रहरीले काभ्रेका भागवत सिंह थापा, चितवनका शशाङ्क श्रेष्ठ, नुवाकोटका मिलन गिरी र विवेक मगरसहित एक १६ वर्षीय बालकलाई पनि पक्राउ गरेको छ।

बैंकले ३ करोड ७ लाख रुपैयाँ लुटिएको दाबी गरे पनि प्रहरीले लुटेराहरूको साथबाट २ करोड ६८ लाख ५५ हजार रुपैयाँ नगद बरामद गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य प्रकाश सुवेदीका अनुसार पक्राउ परेका सबै विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ । रक्षक नै भक्षक बनेको यो घटनाले वित्तीय संस्थाहरूको सुरक्षा र घरधनीहरूको पृष्ठभूमिबारे नयाँ बहस छेडिदिएको छ ।


सम्बन्धित समाचार
भर्खरै