Logo

२ माघ, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै पार्टी चुनावी मैदानमा होमिने घोषणा गरेका छन्।

निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएपछि फेसबुक लाइभमार्फत धारणा राख्दै शर्माले कांग्रेस अब नयाँ राजनीतिक अभ्यासका साथ चुनावमा जाने स्पष्ट पारे।

उनले कांग्रेसले पुरानो शैली त्याग्दै निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जनतामाझ जाने बताए। “पार्टीभित्र र आम जनताको भावना गगन थापालाई नेतृत्वमा देख्ने छ,” शर्माले भने, “महासमितिबाट पारित दस्तावेज र आम कार्यकर्ताको चाहनाअनुसार हामी गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेर चुनावमा जान्छौँ। यसले देशलाई स्पष्ट राजनीतिक मार्गचित्र दिनेछ।”

आयोगको निर्णयले विशेष महाधिवेशनलाई वैधानिकता दिएको उल्लेख गर्दै शर्माले देशभर कांग्रेस कार्यकर्ताले दीपावली मनाउन थालेको बताए। काँकडभिट्टा, कञ्चनपुर र चितवनलगायत स्थानमा दीपावली मनाइएको जानकारी आएको उल्लेख गर्दै उनले यसलाई ‘नवीन कांग्रेस’ निर्माणको उत्सवका रूपमा लिन आग्रह गरे।

“यो विधिको जित हो। उज्यालो मनोविज्ञानका साथ दीपावली मनाउनुस्, तर यसलाई कसैको हार–जीतका रूपमा होइन, पार्टीको बृहत्तर एकताको रूपमा बुझ्नुपर्छ,” उनले भने।

शर्माले कांग्रेसको अबको प्रमुख एजेन्डा ‘स्थिर सरकार’ हुने स्पष्ट पारे। विगत ३४ वर्षमा ३० वटा सरकार बनेको भन्दै उनले देश निरन्तर अस्थिरताको चक्रमा फसेको बताए। यही अवस्थाबाट बाहिर निस्कन कांग्रेसले पाँच वर्षसम्म टिक्ने प्रधानमन्त्री र सुशासन सुनिश्चित गर्ने उद्देश्यसहित ‘फुल टर्म प्राइम मिनिस्टर एक्ट’ को अवधारणा अघि सारेको उनले जानकारी दिए।

उनले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने ‘एक्जिट पोलिसी’ कडाइका साथ लागू गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावपूर्व गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने शर्माको भनाइ थियो। साथै, पार्टीलाई जिताउन आफू यसपटक उम्मेदवार नबन्ने र देशभरको चुनावी अभियानको कमाण्ड सम्हाल्ने घोषणा पनि उनले गरे।


सम्बन्धित समाचार