Logo

३ माघ, काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र र निर्वाचन सामग्री ढुवानी गर्न १३ वटा व्यावसायिक संस्थाहरूलाई सूचीकरण गरेको छ । आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रसहित देशभर सामग्री पुर्‍याउन विभिन्न ढुवानी सेवा प्रदायकहरू छनोट गरेको हो।

निर्वाचन सामग्री र मतपत्र जस्ता संवेदनशील वस्तुहरू समयमै पुर्‍याउन आयोगले कुरियर सेवातर्फ दुईवटा फर्मलाई छनोट गरेको छ । छनोट हुनेमा साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेसनल लजिष्टिक प्रालि रहेका छन् ।

आयोगले दुर्गम र हिमाली क्षेत्रमा सामग्री ढुवानीका लागि हेलिकोप्टर सेवा प्रदायक कम्पनीहरूलाई पनि सूचीकृत हुन आह्वान गरेको थियो । तर, आयोगको आग्रहका बाबजुद कुनै पनि हेलिकोप्टर कम्पनीले आवेदन दर्ता नगराएको आयोगले जनाएको छ । यसले गर्दा दुर्गम क्षेत्रमा सामग्री ढुवानीको वैकल्पिक व्यवस्थापनमा आयोगलाई चुनौती थपिन सक्ने देखिएको छ ।

स्थलमार्गबाट सामग्री ओसारपसार गर्न आयोगले ११ वटा ट्रक तथा कन्टेनर सेवा प्रदायकहरूलाई सूचीकरण गरेको छ । सूचीकृत हुनेहरूमा हिमालयन कार्गो लजिष्टिक, वासुकी ट्रान्सपोर्ट, चितवन रोडवेज क्यारियर, न्यू भैरव ट्रान्सपोर्ट, र अदीति ट्रान्सपोर्ट रहेका छन् ।

त्यस्तै, ओम ट्रान्सपोर्ट, हरहर महादेव ढुवानी सेवा, देउती बज्यै कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, कृष्ण ट्रान्सपोर्ट, धवलागिरि कालिका कन्स्ट्रक्सन एन्ड सप्लायर्स र एयर मनकामना कुरियर एन्ड कार्गो प्रालि पनि छनोट भएका छन् ।

आयोगले गत पुस १७ गते प्रकाशित गरेको सार्वजनिक सूचनाका आधारमा प्राप्त भएका निवेदनहरूलाई तोकिएका शर्त र वार्षिक औसत कारोबारको आधारमा मूल्याङ्कन गरी यी फर्महरूलाई अन्तिम रूप दिएको हो । सूचीकृत भएका यी संस्थाहरूलाई आयोगले निर्वाचनको समय तालिकाअनुसार सामग्री आपूर्तिका लागि परिचालन गर्नेछ ।


सम्बन्धित समाचार