३ माघ, काठमाण्डौ – भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज बिदाइ गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले कार्यक्रम आयोजना गर्दै टोलीलाई औपचारिक रूपमा विदाइ गरेको हो।
नेपाली टोलीले विश्वकपअघि भारत र श्रीलङ्कामा अभ्यास खेलहरू खेल्नेछ। टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ। आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ (माघ २४) देखि मार्च ८ (फागुन २४) सम्म भारत र श्रीलङ्कामा आयोजना हुँदैछ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल ले टी–२० विश्वकपका लागि तयारी राम्रो भइरहेको बताउँदै देशलाई गर्व गर्न लायक प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले नेपाल प्रिमियर लिग (एनपीएल)पछि केही दिन विश्राम लिए पनि तयारी सुखद् रहेको बताए।
मुख्य प्रशिक्षक स्टुआर्ट ल ले भारत र श्रीलङ्कामा हुने अभ्यासले टोलीलाई विश्वकप लक्षित रूपमा अझ सशक्त बनाउने बताए। विश्वकप खेल्नु खेलाडी, प्रशिक्षक र व्यवस्थापन सबैका लागि गर्वको क्षण भएको उल्लेख गर्दै उनले नेपालले गर्व गर्ने विश्वकप हुने आशा व्यक्त गरे। पछिल्ला तीन हप्तादेखि विशेष तयारी भइरहेको उनको भनाइ छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द ले श्रीलङ्का ‘ए’ टोली बलियो हुनेबारे श्रीलङ्का क्रिकेटबाट आश्वासन पाएको जानकारी दिए।
क्यानका सचिव पारस खड्का ले नेपाली टोलीबाट देशले ठूलो आशा राखेको र विश्व क्रिकेटले पनि नियाली रहेको बताए। खेलाडी सबैका आदर्श पात्र भएकाले मैदानभित्र मात्र होइन, बाहिरका गतिविधिले पनि प्रभाव पार्ने भन्दै अनुशासित रहन सुझाव दिए। साथै, विश्वकपपछि टेस्ट राष्ट्रसँग खेल्ने प्रक्रिया अघि बढिरहेको जानकारी पनि दिए। नतिजा आफूअनुकूल नआए पनि यो विश्वकप ठूलो अवसर भएको स्मरण गराए।
पारस खड्काकै कप्तानीमा नेपालले सन् २०१४ मा बङ्गलादेशमा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो। दोस्रो पटक विश्वकप खेल्न १० वर्ष लागेको नेपालले तेस्रो पटक भने लगातार विश्वकप खेल्दैछ।
यस विश्वकपमा समूह ‘सी’ मा नेपालसहित इङ्ल्याण्ड, इटाली, वेस्ट इन्डिज र बङ्गलादेश छन्। नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ (माघ २५) मा इङ्ल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।















