३ मांघ,काठमाडौं ।चीनले नयाँ पुस्ताको पुनःप्रयोगयोग्य रकेट ‘लङ मार्च–१२बी’ को परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। शुक्रबार दिउँसो सम्पन्न उक्त परीक्षणलाई आगामी अन्तरिक्ष उडान मिसनहरूतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
उत्तरपश्चिम चीनस्थित डोङफङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पाइलट क्षेत्र मा गरिएको परीक्षणबाट रकेट प्रणालीको समग्र कार्यक्षमता, स्थायित्व तथा प्राविधिक विश्वसनीयता प्रमाणित भएको रकेट विकासकर्ताले जनाएका छन्।
‘लङ मार्च–१२बी’ रकेट चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन अन्तर्गतको व्यावसायिक रकेट निर्माण कम्पनीद्वारा विकास गरिएको हो। यो रकेट विशेष रूपमा व्यावसायिक प्रयोजनका लागि न्यून–पृथ्वी कक्ष ९लो अर्थ अर्बिट० मा उपग्रह समूह तैनाथ गर्न डिजाइन गरिएको नयाँ प्रविधियुक्त रकेट हो।
कम्पनीका अनुसार उक्त रकेटले पृथ्वीनजिकको कक्षमा एक पटकमा २० टनसम्म पेलोड बोक्न सक्ने क्षमता राख्दछ। पछिल्लो फायरिङ परीक्षणले रकेटको डिजाइन अवधारणा, संरचनात्मक मजबुती तथा प्रणालीगत विश्वसनीयता सफलतापूर्वक पुष्टि गरेको बताइएको छ।
विकासकर्ताले यो परीक्षणले आगामी उडान परीक्षणका लागि बलियो आधार तयार भएको जनाउँदै चीनको व्यावसायिक अन्तरिक्ष प्रक्षेपण क्षमतामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन्। व्यावसायिक उपग्रह प्रक्षेपण क्षेत्रमा चीनको प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ हुने अपेक्षा गरिएको छ।















