Logo

४ माघ, काठमाडौँ । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवारहरूको नामावली टुङ्गो लगाएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले सातै प्रदेशका निर्वाचन क्षेत्रहरूमा उम्मेदवारहरूको चयन गरेको हो । कतिपय क्षेत्रमा उम्मेदवार घोषणा गरिए पनि केही महत्वपूर्ण र रणनीतिक क्षेत्रहरूको निर्णय गर्ने अधिकार भने सचिवालयले अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पिएको छ ।

उम्मेदवारको सुची :

सुदूरपश्चिम प्रदेशमा एमालेले अनुभवी र नयाँ अनुहारको मिश्रण गरेको छ। कैलालीमा द्वारिका न्यौपाने, सूर्यबहादुर थापा, गौरीशंकर चौधरी, लेखराज भट्ट र यज्ञराज ढुङ्गानालाई मैदानमा उतारेको छ भने कञ्चनपुरमा कमला बोहरा, वचनबहादुर सिंह र दीपक भट्टले टिकट पाएका छन् । त्यस्तै बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेशसिंह ठगुन्नाले निरन्तरता पाएका छन् । कर्णाली प्रदेशतर्फ सल्यानमा गुलाबजंग शाह, सुर्खेतमा ध्रुव शाही र कुलमणि देवकोटा, तथा दैलेखमा रविन्द्रराज शर्मा र लक्ष्मीराज शर्मा उम्मेदवार चयन भएका छन् । कालिकोटमा नागेन्द्र शाहीलाई चुनावी कमान्ड सुम्पिएको छ।

लुम्बिनी प्रदेशमा प्रभावशाली नेताहरूको क्षेत्रमा भने केही अन्योल कायमै देखिएको छ। रुपन्देहीका ३ र ५ बाहेकका क्षेत्र र कपिलवस्तु २ को निर्णय अध्यक्षले गर्नेछन्। पाल्पाबाट नारायण आचार्य र विष्णुप्रसाद पौडेल तथा गुल्मीबाट प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट पुनः चुनावी मैदानमा उत्रिने छन्। दाङका दुई क्षेत्रमा महासचिवको इच्छा बुझेर अध्यक्षले निर्णय लिने बताइएको छ। गण्डकी प्रदेशमा लमजुङबाट पृथ्वीसुब्बा गुरुङ, पर्वतबाट पदम गिरी र कास्कीका तीन क्षेत्रमा बैणबहादुर क्षेत्री, कृष्ण थापा र दामोदर बैरागीलाई चयन गरिएको छ।

बागमती प्रदेश अन्तर्गत काठमाडौँका केही क्षेत्र र काभ्रे २ को निर्णय बाँकी राख्दै एमालेले मकवानपुरमा रामेश्वर राना र महेश बर्तौलालाई अघि सारेको छ। चितवनका तीन क्षेत्रमा कृष्णराज पाठक, अस्मिन घिमिरे र शंकरराज थपलियाले टिकट पाएका छन् । मधेस प्रदेशमा धनुषाबाट जुली महतो र रघुवीर महासेठ तथा बाराबाट अच्युत मैनाली, ज्वाला शाह र किसान श्रेष्ठ उम्मेदवार बनेका छन् । पर्साका दुई क्षेत्र र सर्लाहीका केही क्षेत्रमा भने अध्यक्षले नै निर्णय गर्ने गरी खाली छोडिएको छ ।

कोशी प्रदेशतर्फ झापा ५ बाट अध्यक्ष केपी शर्मा ओली स्वयं उम्मेदवार बनेका छन् भने झापा २ बाट देवराज घिमिरे र झापा १ बाट रामचन्द्र उप्रेतीलाई टिकट दिइएको छ। इलाम २ मा सुहाङ नेम्वाङले अवसर पाउँदा भोजपुरबाट शेर्दन राई र तेह्रथुमबाट भानुभक्त ढकाल चुनावी प्रतिस्पर्धामा होमिने छन् । मोरङका दुई क्षेत्र र ताप्लेजुङको उम्मेदवार भने अध्यक्षले पछि टुङ्ग्याउने सचिवालयले जनाएको छ।

एमालेले यसपटकको उम्मेदवार छनोटमा भूगोलको पकड, पार्टीप्रतिको निष्ठा र आगामी निर्वाचनमा जित्न सक्ने सम्भावनालाई मुख्य आधार बनाएको दाबी गरेको छ।


सम्बन्धित समाचार