४ माघ, वीरगञ्ज । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गरी मधेश प्रदेश सभाका सात जना सांसदले प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् । तीमध्ये दुई जना पूर्वमुख्यमन्त्री, एक जना पूर्वसभामुख तथा चार जना पूर्वमन्त्री रहेका छन् ।
नेकपा एमालेले सप्तरी क्षेत्र नम्बर–२ बाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा जनमत पार्टीका प्रदेश सांसदसमेत रहेका सतिशकुमार सिंहलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै, धनुषा क्षेत्र नम्बर–१ बाट मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डल र महोत्तरी क्षेत्र नम्बर–४ बाट निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता सरोज यादवलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ ।
पर्सा क्षेत्र नम्बर–३ बाट एमालेका प्रदेश सांसद प्रमोद जयसवाललाई पनि पार्टीले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्व मन्त्री राजकुमार गुप्ता भ्रष्टाचार मुद्दामा पुपक्षका लागि थुनामा रहेकोले उक्त क्षेत्रबाट गुप्ताको समर्थनमा जयसवाललाई उमेदवार बनाइएको हो ।
उम्मेदवार सिफारिस भएका सातै जना प्रदेश सांसद प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएका हुन् । उनीहरू प्रतिनिधि सभा चुनाव लड्न प्रदेश सभा सदस्य पदबाट राजीनामा दिने तयारीमा छन् ।
उता, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट संसदीय दलका नेता भरत प्रसाद साह महोत्तरी क्षेत्र नम्बर–४ बाट र युवराज भट्टराई ‘समिर’ रौतहट क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।
यसैबीच, नेकपा परित्याग गरेका रहबर अंसारीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट बारा क्षेत्र नम्बर–४ बाट चुनाव लड्ने योजना बनाएका छन् । स्रोतका अनुसार रास्वपाले उनलाई पर्सा क्षेत्र नम्बर–१ बाट समेत उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।
प्रदेश सभाका सदस्यहरूले आफ्नो कार्यकाल बाँकी रहँदै संघीय संसदको निर्वाचनमा सहभागी हुन राजीनामा दिन लागेको विषयले मधेश प्रदेशको राजनीतिमा नयाँ बहससमेत सुरु भएको छ ।















