४ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला मधेसको राजनीतिमा एउटा महत्वपूर्ण समीकरण फेरबदल भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादव आफ्नो पुरानो दल त्यागेर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । आइतबार ललितपुरको बालकुमारीस्थित जसपा केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच अध्यक्ष उपेन्द्र यादवले खादा र माला लगाएर पूर्वमन्त्री यादवलाई पार्टीमा स्वागत गरेका छन् । निर्वाचनको संघारमा एक स्थापित नेताले कित्ता परिवर्तन गर्नुलाई सर्लाहीको चुनावी अंकगणितमा ठूलो हेरफेर ल्याउन सक्ने कदमका रूपमा हेरिएको छ।
रामेश्वर राय यादवसँगै सर्लाहीका दर्जनौँ प्रभावशाली नेता तथा कार्यकर्ताहरू पनि जसपा नेपालमा प्रवेश गरेका छन् । जसमा सर्लाही क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने चक्रघट्टा गाउँपालिकाका पूर्व अध्यक्ष विक्रम यादव र स्थानीय पत्रकार विजय यादव लगायतका व्यक्तित्वहरू रहेका छन् । स्थानीय तहमा बलियो पकड भएका नेताहरूले सामूहिक रूपमा पार्टी परिवर्तन गरेपछि सर्लाहीमा नेकपाको सांगठनिक संरचनामा धक्का पुगेको विश्लेषण गरिएको छ । नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष उपेन्द्र यादवले रामेश्वर राय जस्ता अनुभवी नेताको आगमनले जसपा नेपाललाई थप उचाइमा पुर्याउने र मधेसको अधिकार प्राप्तिको आन्दोलनलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय नजिकिँदै गर्दा भएको यो पार्टी प्रवेशलाई अर्थपूर्ण रूपमा लिइएको छ। पूर्वमन्त्री यादवले आफ्नो राजनीतिक जीवनको लामो अनुभव र जनसम्बन्धलाई अब जसपा नेपालको संगठन सुदृढीकरण र चुनावी सफलतामा लगाउने प्रतिबद्धता जनाएका छन् ।
नेकपाभित्रको आन्तरिक असन्तुष्टि वा चुनावी टिकटको व्यवस्थापनमा देखिएको समस्याका कारण यादवले कित्ता परिवर्तन गरेको हुनसक्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ । यसले मधेस प्रदेशका विभिन्न निर्वाचन क्षेत्रहरूमा जसपा नेपालको चुनावी प्रतिस्पर्धालाई थप रोचक र चुनौतीपूर्ण बनाउने देखिएको छ ।














