४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका लोकप्रिय मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने तयारीका बीच उनले आइतबार दिउँसो महानगरको नेतृत्व परित्याग गरेका हुन् । सुरुमा उम्मेदवारी दर्तासँगै पद स्वतः रिक्त हुने कानुनी परामर्श पाएको चर्चा चले पनि बालेनले नैतिक र राजनीतिक स्पष्टताका लागि मनोनयन पूर्व नै राजीनामा दिने निर्णय लिएका हुन् । उनको यो राजीनामासँगै काठमाडौँ महानगरको साढे तीन वर्ष लामो बालेन कार्यकालमा औपचारिक पूर्णविराम लागेको छ भने महानगरको प्रशासनिक नेतृत्व अब उपमेयरको काँधमा पुगेको छ।
झापा–५ मा भिड्ने तयारी
मेयर पद त्याग गरेसँगै बालेनको अबको गन्तव्य संघीय संसद् हुने निश्चित भएको छ । रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुनु अगावै राजीनामा दिएका साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवारी दिने करिब पक्का भइसकेको छ ।
काठमाडौँ महानगरमा फुटपाथ व्यवस्थापन, फोहोरमैलाको दीर्घकालीन समाधान र डिजिटल गभर्नेन्सका क्षेत्रमा उनले चालेका कदमहरूले देशभर चर्चा पाएका बेला, उनले संघीय राजनीतिमा खेल्ने भूमिकालाई निकै चासोका साथ हेरिएको छ । बालेनको यो कदमलाई स्थानीय तहको सफल अनुभवलाई राष्ट्रिय नीति निर्माणमा रूपान्तरण गर्ने प्रयासका रूपमा उनकै सचिवालयले व्याख्या गरेको छ ।















