४ माघ, काठमाडौँ महानगरपालिकाको नेतृत्वबाट औपचारिक बिदाइ लिएलगत्तै बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् ।
आइतबार अपराह्न साढे ३ बजेतिर रास्वपाको कार्यालय चस्मति पुग्दा बालेनसँगै जेनजी अभियन्ता सुदन गुरुङ पनि साथै देखिएका थिए । कार्यालय परिसरमा भेला भएका रास्वपाका नेता तथा कार्यकर्ताहरूले उनीहरूलाई फूलमाला र उत्साहजनक नाराबाजीका साथ भव्य स्वागत गरे । सो अवसरमा बालेन र सुदनले रास्वपाको चुनाव चिह्न घण्टी बजाएर आगामी प्रतिनिधिसभा निर्वाचनका लागि वैकल्पिक राजनीतिको औपचारिक शङ्खघोष समेत गरेका छन् । पद त्याग गरेर प्रत्यक्ष राजनीतिमा होमिएका बालेनले घण्टी बजाउँदा कार्यकर्ताहरूमाझ निकै ठूलो उत्साह छाएको थियो ।
जनकपुरको चुनावी र्यालीका लागि प्रस्थान
पार्टी कार्यालय छिरेको करिब १० मिनेटमै बालेन र सुदनको टोली त्यहाँबाट बाहिरिएको छ । ३ बजेर ४३ मिनेटमा प्रवेश गरेका बालेन ठिक ३ बजेर ५३ मिनेटमा कार्यालयबाट निस्किएपछि धेरैमाझ कौतूहल पैदा भएको थियो । तर, यो संक्षिप्त बसाइ पूर्वनिर्धारित चुनावी कार्यतालिकाकै हिस्सा भएको बुझिएको छ । आजै साँझ ५ बजे जनकपुरमा आयोजना गरिएको वृहत् चुनावी कार्यक्रममा सहभागी हुन पार्टी सभापति रवि लामिछानेसँगै बालेन जनकपुर प्रस्थान गर्ने तयारीमा रहेकाले उनी छिट्टै बाहिरिएका हुन् । पुस १३ गते भएको ७ बुँदे सहमतिअनुसार प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिएका बालेनले अब देशव्यापी चुनावी अभियानको नेतृत्व गर्ने देखिएको छ ।
युवा नेतृत्वको नयाँ मोर्चा र वैकल्पिक शक्तिको उदय
बालेन र सुदन जस्ता युवा हस्तीहरूको रास्वपा प्रवेश र सक्रियताले आगामी निर्वाचनको समीकरणलाई पूर्णतः नयाँ दिशा दिएको छ । काठमाडौँको मेयर पद छाडेर संघीय संसद् र देशको कार्यकारी प्रमुखको लक्ष्यसहित बालेनले चालेको यो कदमलाई राजनीतिक विश्लेषकहरूले साहसिक फड्कोको रूपमा हेरेका छन् ।
घण्टीघर मा देखियो बालेनको छोटो तर प्रभावकारी उपस्थितिले रास्वपाभित्रको युवा जोसलाई थप एकीकृत गरेको छ । जनकपुरबाट सुरु हुने उनीहरूको यो संयुक्त यात्राले मधेस प्रदेश र समग्र देशको चुनावी माहोलमा कस्तो असर पार्छ भन्ने विषय अहिले नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेको छ ।














