Logo

४ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी खुलाइएको निर्वाचन प्रहरी मा करिब २ लाख नेपाली नागरिकले रुचि देखाएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत परिचालन हुने गरी माग गरिएको १ लाख ४९ हजार ९० पदका लागि कुल १ लाख ९६ हजार ४ सय ७० जनाको दरखास्त परेको हो । विशेष कुरा त के छ भने, आवेदन दिनेहरूमध्ये २९ हजारभन्दा बढी संख्यामा विगतका निर्वाचनमा काम गरेका म्यादी प्रहरी, पूर्वप्रहरी, पूर्वसेना र सशस्त्र प्रहरीका अवकाशप्राप्त कर्मचारीहरू रहेका छन् । अनुभवी जनशक्तिको यो ठूलो सहभागिताले निर्वाचन सुरक्षा व्यवस्थापनलाई थप भरपर्दो बनाउने अपेक्षा गरिएको छ ।

सोमबारदेखि ७७ वटै जिल्लामा छनोट गरिँदै

निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएकाहरूको शारीरिक र मानसिक तन्दुरुस्ती परीक्षण सोमबार (माघ ५ गते) देखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्तरीय कार्यालयहरूमा सुरु हुँदैछ । ४० दिनको कार्यावधि तोकिएका यी सुरक्षाकर्मीले प्रहरी जवान सरहको आधारभूत तलब, रासन भत्ता र लत्ताकपडा खर्च पाउनेछन् ।

गृह मन्त्रालयको कार्यविधिअनुसार एक निर्वाचन प्रहरीले पारिश्रमिकबापत एकमुष्ट ३४ हजार रुपैयाँ, रासन भत्ता, यातायात खर्च र खाजा खर्च पाउनेछन्, जुन सिधै उनीहरूको बैंक खातामा जम्मा गरिनेछ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छनोट समितिले उचाइ, तौल र नैतिक चरित्र जस्ता निर्धारित मापदण्डका आधारमा योग्य उम्मेदवारहरूको अन्तिम सूची तयार पार्नेछ ।

मतदान स्थल र सुरक्षा कार्ययोजनाको तयारी तीव्र

विगतका निर्वाचनहरूको तुलनामा यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूको संख्यामा केही कमी देखिएको छ । २०७९ को स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा मागभन्दा तेब्बरसम्म आवेदन परेकोमा यसपालि संख्या दुई लाखको हाराहारीमा खुम्चिएको हो । कोशी र सुदूरपश्चिम लगायतका ३६ जिल्लामा पर्याप्त आवेदन नपरेपछि म्याद समेत थप गरिएको थियो ।

आवेदनमा कमी देखिए पनि सरकारले स्वीकृत गरेको ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने योजनामा यसले खासै असर नपार्ने गृह मन्त्रालयको दाबी छ । निर्वाचन आयोगले देशभर तोकेका १० हजार ९ सय ६७ मतदान स्थलहरूको सुरक्षाका लागि निर्वाचन प्रहरीलाई भित्री घेरामा खटाउने गरी सुरक्षाको त्रिघेरा रणनीति तयार भइसकेको छ ।


सम्बन्धित समाचार