४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्मा ले सभापति गगन थापा र नेता शेखर कोइराला मिलेर अघि बढ्ने निर्णय भइसकेको बताएका छन्।
नेता कोइरालाले आज काठमाडौंको बत्तिसपुतलीमा आयोजना गरेको आफूनिकट नेता–कार्यकर्ताको भेलामा सहभागी हुँदै शर्माले भने, “शेखर दाइहरू गगन थापासँग मिलेर जाने निर्णय भइसकेको कुरा हो।”
उनले कोइराला परिवार नेपाली कांग्रेसको एकताको पक्षमा रहेको स्पष्ट पार्दै पार्टी फुटाउने पक्षमा कोइराला परिवार कहिल्यै नरहेको बताए। “कोइराला परिवारलाई पार्टी फुटेको मन पर्छ र? पार्टी बनाउन उहाँहरूले कति वर्ष जेल जीवन बिताउनुभएको छ, सर्वस्व गुमाउनुभएको छ,” उनले भने, “आफू जलेर भए पनि शेखर कोइरालाले पार्टी बचाइदिनुहुन्छ। पार्टी बचाउन उहाँ निरन्तर लागिरहनुभएको छ।”
नेता शर्माले सभापति थापा पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गरे। उनका अनुसार आगामी निर्वाचनमा विजयी हुन नेपाली कांग्रेसका सबै समूहहरू गगन थापा नेतृत्वमा एक भएर अघि बढ्नुको विकल्प नरहेको छ।
उनले पार्टीभित्र देखिएका मतभेदलाई अन्त्य गर्दै एकतामार्फत निर्वाचनमा होमिनु नै कांग्रेसका लागि उत्तम मार्ग हुने बताए।














