५ माघ, काठमाडौँ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने नयाँ वर्ष अर्थात् सोनाम ल्होसार पर्व आज देशभर विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६२औँ वर्ष सुरु भएको छ । तामाङ समुदायले आजदेखि ‘सर्प वर्ष’ लाई बिदा गरी ‘घोडा वर्ष’ मा प्रवेश गरेका छन् ।
सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वटा वर्गमा विभाजन गरिएको छ । यी वर्षहरू पशुपन्छीको नामबाट गणना गरिएकाले यो समुदायलाई प्रकृतिपूजक मानिने अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । करिब ४ हजार ७ सय वर्ष पुरानो मानिने यो पर्व नेपालसहित चीन, मङ्गोलिया, जापान, भियतनाम, थाइल्याण्ड, ताइवान, मलेसिया र सिङ्गापुर लगायतका देशहरूमा समेत मनाउने गरिन्छ ।
नेपाल तामाङ घेदुङको आयोजनामा काठमाडौँको टुँडिखेलमा शनिबारदेखि नै तीन दिने ल्होसार महोत्सव सुरु भएको छ । महोत्सवमा तामाङ समुदायको मौलिक संस्कृति झल्काउने ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत सेलो, नृत्य तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ ।
यसैगरी, बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा र स्वयम्भू क्षेत्रमा पनि विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ । नेपालमा तामाङ समुदायका अतिरिक्त ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा र केही शेर्पा समुदायले समेत यो पर्वलाई उत्सवको रूपमा मनाउने गर्छन् ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा सोनाम ल्होसारको विशेष रौनक देखिएको छ । पारिवारिक पुनर्मिलन हुने यस पर्वमा विशेषगरी लामा र गुरुहरूबाट आशीर्वाद लिने, मिठो-मसिनो परिकार खाने र आफ्नो भाषा, कला तथा भेषभूषाको प्रदर्शन गर्ने गरिन्छ । यस पर्वले नेपालको बहुसांस्कृतिक र बहुभाषिक पहिचानलाई थप मजबुत बनाएको छ ।















