Logo

५ माघ, काठमाडौँ । निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको ढोकासम्म पुगेको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अन्ततः सहमतितर्फ मोडिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमिति र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षबीच ‘मिलेरै चुनावमा जाने’ गरी घनीभूत छलफल सुरु भएको हो ।

पार्टीभित्रको बढ्दो दूरी कम गर्न आइतबार राति सभापति गगन थापा र देउवा समूहका विश्वासपात्र नेता रमेश लेखकबीच निर्णायक संवाद भएको छ । थापा समूहका तर्फबाट रमेश धमला, सुवास पोखरेल र गेजशर्मा वाग्ले तथा देउवा पक्षबाट पूर्णबहादुर खड्का, मीन विश्वकर्मा र नैनसिंह महर संवादमा सक्रिय रहेका थिए ।

सभापति थापासँगको संवादपछि नेता लेखक राति १२ बजे पूर्वसभापति देउवालाई भेट्न महाराजगञ्ज पुगेका थिए । संवादमा सहभागी एक नेताका अनुसार, दुवै पक्षबीच कुरा सहमति नजिक पुगेको र आज (सोमबार) सम्ममा सबै प्राविधिक र राजनीतिक विषयहरू टुङ्ग्याउने तयारी छ ।

सभापति थापासँगको संवाद सकारात्मक देखिएपछि देउवा र डा. शेखर कोइराला पक्षका नेताहरू अहिले देउवा निवास महाराजगञ्जमा आन्तरिक छलफलमा जुटेका छन् । सामूहिक रूपमा साझा धारणा बनाएर फेरि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासँग संवादमा बस्ने उनीहरूको रणनीति छ । शेखर कोइराला समूह सुरुदेखि नै निर्वाचनको पक्षमा उभिएकाले देउवा पक्षलाई पनि सहमतिमा ल्याउन सहज भएको विश्लेषण गरिएको छ ।

सभापति थापाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत पार्टीमा सबैलाई मिलाएर लैजाने प्रयास भइरहेकाले टिकट वितरणमा केही ढिलाइ भएको स्पष्ट पारेका छन्। उनले लेखेका छन्, “पार्टीभित्रको विवाद मिलाउन संवाद जारी छ, आज सबै विषय टुङ्गिनेछ। टिकट लिएर जाने पार्टीको आधिकारिक उम्मेदवारका पक्षमा उभिन म सबै नेता-कार्यकर्तालाई आग्रह गर्दछु।”

निर्वाचन आचारसंहिता लागू भइसकेको र मनोनयनको समय नजिकिएकाले पनि कांग्रेसका दुवै पक्षमाथि एकताबद्ध हुनुपर्ने दबाब बढेको छ । यदि आज सहमति भएमा कांग्रेसका दुवै पक्ष एउटै चुनाव चिह्न ‘रुख’ लिएर चुनावी मैदानमा होमिनेछन्, जसले कार्यकर्तामा उत्साह थप्ने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै