Logo

५ माघ, काठमाडौँ । झापा-५ यसपटकको प्रतिनिधिसभा निर्वाचन फागुन २१ को मुख्य ‘ब्याटल ग्राउन्ड’ बनेको छ। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई पुनः सोही क्षेत्रबाट उम्मेदवार बनाउँदै भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ।

अर्कातर्फ, काठमाडौँको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका बालेन शाहले पनि ओलीको गढ मानिने झापा-५ बाटै चुनाव लड्ने घोषणा गरेका छन् । रास्वपाले बालेनलाई पनि आफ्नो भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेकाले यो चुनाव दुई ‘प्रधानमन्त्रीका दाबेदार’ बीचको रोचक भिडन्तमा परिणत भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली आज उम्मदेवारी दर्ता गर्न सोमबार झापा जाँदै छन् । आगामी फागुन २१ गतेको निर्वाचनका लागि केन्द्रविन्दु बनेको झापा-५ मा उम्मेदवारी दर्ता गर्न ओली बिहान साढे १० बजे झापा जान लागेका हुन् । बिहान १०.२५ मा उनी भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ ।

क्षेत्र नम्बर १ मा पर्ने यो क्षेत्रमा ओलीले स्थानीय नेता कार्यकर्तासँग छलफल गर्ने र त्यहाँबाट विर्तामोड जाने र विर्तामोडमा भेटघाटपछि दमक जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। उनी दमकस्थित जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नो निवास पनि पुग्ने कार्यक्रम छ।

बालेन शाह आइतबार काठमाडौँको मेयरबाट राजीनामा दिएर रास्वपामा आधिकारिक रूपमा प्रवेश गरिसकेका छन् । उनी आज (सोमबार) नै जनकपुरको कार्यक्रम सकेर झापा पुग्ने र झापा-५ बाटै उम्मेदवारी दर्ता गराउने तयारीमा छन् ।

झापा-५ मा एमालेको दह्रो संगठन र ओलीको व्यक्तित्वलाई बालेन शाहको युवा क्रेज र ‘परिवर्तन’ को नाराले चुनौती दिइरहेको छ ।

नेकपा एमाले र रास्वपा दुवैले आ-आफ्ना शीर्ष नेतालाई जिताउन सम्पूर्ण शक्ति परिचालन गरेका छन् । उम्मेदवारी दर्ताको दिन झापामा सुरक्षा व्यवस्था कडा पारिएको छ । बालेन र ओली दुवैका समर्थकहरू ठूलो सङ्ख्यामा सडकमा उत्रने तयारीमा रहेकाले प्रशासनले उच्च सतर्कता अपनाएको छ ।

झापा-५ बाट यसअघि भारी मतान्तरले विजयी भएका ओलीका लागि यसपटक बालेन शाहको ‘क्रेज’ र युवा मतदाताको आकर्षण मुख्य चुनौती बन्न सक्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।


सम्बन्धित समाचार
भर्खरै