Logo

५ माघ, सर्लाही । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई सर्लाहीको हरिवनमा तामाङ समुदायले भव्य स्वागत तथा सम्मान गरेको छ। हरिवन नगरपालिका-५ मा आयोजित एक विशेष कार्यक्रमका बीच सो समुदायले श्रेष्ठलाई फूलमाला र खादासहित स्वागत गरेको हो ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको समृद्धि र परिवर्तनका लागि समावेशी विकास, सामाजिक न्याय र सुशासन अनिवार्य रहेको बताए । उनले स्थानीय तहको विकासमा सबै समुदायको सक्रिय सहकार्य र अपनत्व हुनुपर्नेमा जोड दिँदै सीमान्तकृत समुदायको हक-हितका लागि आफू र आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहने स्पष्ट पारे ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता-कार्यकर्ता तथा ठूलो सङ्ख्यामा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । तामाङ समुदायका अगुवाहरूले यस्ता भेटघाटले राजनीतिक नेतृत्व र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

सो अवसरमा स्थानीयले क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार, शिक्षा र स्वास्थ्यका समस्याबारे नेता श्रेष्ठको ध्यानाकर्षण समेत गराएका थिए । कार्यक्रमले स्थानीय स्तरमा राजनीतिक र सामाजिक सद्भाव बढाउन मद्दत पुर्‍याएको सहभागीहरूको भनाइ थियो ।


सम्बन्धित समाचार
भर्खरै