५ माघ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले चुनावी मैदानमा उत्रने तयारीका साथ मन्त्री पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएपछि उनले पदमा बहाल रहेर निर्वाचनमा होमिँदा आचारसंहिता र नैतिक प्रश्न उठ्ने भन्दै राजीनामा दिएका हुन् । सुशीला कार्की नेतृत्वको सरकारमा जेनजी अर्थात् नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै मन्त्री बनेका गुप्ताले आफ्नो राजीनामाबारे प्रधानमन्त्रीलाई आधिकारिक जानकारी गराइसकेको र अहिले राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको बताएका छन् ।
मन्त्री गुप्ताले अनलाइनखबरसँग कुरा गर्दै आफू अब पूर्ण रूपमा चुनावी अभियानमा केन्द्रित हुने स्पष्ट पारेका छन्। उम्मेदवारी दर्ता गर्नुअगावै सरकारी सुविधा र पद त्याग गरेर जनताको बीचमा जानु लोकतान्त्रिक संस्कार भएको उनको तर्क छ। युवा पुस्तामाझ लोकप्रिय छवि बनाएका उनले मन्त्रीका रूपमा छोटो कार्यकालमा पनि खेलकुद क्षेत्रमा केही नवीन पहलहरू सुरु गरेका थिए। अबको निर्वाचनमा रास्वपाले उनलाई कुन क्षेत्रबाट चुनावी मैदानमा उतार्छ भन्ने विषयले राजनीतिक वृत्तमा थप कौतूहल जगाएको छ।















