५ माघ, काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनको महत्वपूर्ण सूचक मानिने अन्तर-बैंक कारोबारमा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा उल्लेख्य गिरावट देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा वित्तीय प्रतिवेदन अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४ खर्ब १७ अर्ब रुपैयाँ बराबरको मात्र अन्तर–बैंक कारोबार गरेका छन् । यसमध्ये वाणिज्य बैंकहरूले आपसमा ३ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँको लेनदेन गरेका छन् भने अन्य वित्तीय संस्थाहरूबीच ७२ अर्ब २९ करोड रुपैयाँ बराबरको वित्तीय सापटी आदानप्रदान भएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा यो तथ्यांकले बैंकिङ क्षेत्रमा कारोबारको आयतन खुम्चिएको प्रस्ट पार्छ । अघिल्लो वर्षको पाँच महिनामा वाणिज्य बैंकहरूले ६ खर्ब ८ अर्ब ५५ करोड र अन्य वित्तीय संस्थाहरूले ७८ अर्ब ८१ करोड गरी कुल ६ खर्ब ८७ अर्ब ३६ करोड रुपैयाँको कारोबार गरेका थिए। गत वर्षको तुलनामा यो वर्ष करिब २ खर्ब ७० अर्ब रुपैयाँले अन्तर(बैंक कारोबार कम हुनुले बजारमा पर्याप्त तरलता रहेको वा बैंकहरूबीचको वित्तीय अन्तरनिर्भरतामा केही परिवर्तन आएको संकेत गर्दछ ।
बैंकहरूले आफ्नो अल्पकालीन नगद आवश्यकता पुरा गर्न एक–अर्कासँग गर्ने यस्तो कारोबारमा आएको गिरावटले वित्तीय बजारको गतिशीलता र ब्याजदरको प्रवृत्तिलाई समेत प्रभाव पार्ने देखिन्छ । राष्ट्र बैंकको यो विवरणले बैंकहरूमा पछिल्लो समय निक्षेप संकलन र कर्जा प्रवाहको सन्तुलनमा आएको फेरबदललाई पनि प्रतिबिम्बित गरेको छ । वित्तीय संस्थाहरूबीच हुने यस्तो आन्तरिक लेनदेन घट्दा बजारमा ब्याजदर स्थिर रहन सहयोग पुग्ने भए तापनि कारोबारको घट्दो दरले बैंकिङ सक्रियतामा आएको सुस्ततालाई समेत उजागर गरेको छ ।















