५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक आन्दोलनको भावनालाई संसद्सम्म पुर्याउने उद्देश्यसहित जेनजी आन्दोलनका घाइते प्रकाशबहादुर बोहोरालाई समानुपातिक उम्मेदवार चयन गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो बन्दसूची अनुसार दैलेखका बोहोरालाई खसआर्य क्लस्टरको चौथो नम्बरमा समेटिएको हो । गत भदौ २३ गते नयाँ बानेश्वरमा भएको आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर गम्भीर घाइते भएका बोहोरा अझै पनि अस्पतालको शय्यामै उपचाररत छन् । आन्दोलनको त्यो त्रासदीपूर्ण क्षणमा उनको रक्ताम्य जुत्ताको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसलाई नयाँ पुस्ताको विद्रोह र आन्दोलनको ुआइकनु का रूपमा हेरिएको थियो ।
कर्णाली प्रदेशबाट उम्मेदवार छनोटमा निकै उतारचढाव आए पनि अन्तिम सूचीमा रास्वपाले ५ जनालाई समेटेर क्षेत्रीय सन्तुलन मिलाउने प्रयास गरेको देखिन्छ । यसअघि चर्चामा रहेका केही नामहरू भूराजनीतिक र व्यक्तिगत कारणले हटाइएको भए पनि नयाँ सूचीमा कालिकोटका पवन शाही, रुकुम पश्चिमका प्रेमबहादुर बोहोरा, तथा सुर्खेतका हिरालाल बादी र सीता बादीको नाम समावेश गरिएको छ । बादी समुदाय र कर्णालीका दुर्गम क्षेत्रका युवाहरूलाई समेट्नुले रास्वपाले यसपटक समावेशिता र भुईँमान्छेको प्रतिनिधित्वलाई प्राथमिकतामा राखेको सन्देश दिन खोजेको छ ।
विशेष गरी प्रकाशबहादुर बोहोराको उम्मेदवारीले रास्वपाको जेनजी पुस्ताप्रतिको राजनीतिक प्रतिबद्धतालाई थप बलियो बनाएको छ । सडकमा रगत बगाएका घाइतेलाई नीति निर्माणको तहमा पुर्याउने यो निर्णयलाई धेरैले सकारात्मक कदमका रूपमा लिएका छन् । दैलेखको नारायण नगरपालिका–८ का स्थायी बासिन्दा बोहोराको स्वास्थ्य अवस्था अझै स्थिर नभएका बेला पार्टीले दिएको यो जिम्मेवारीले आन्दोलनकारी युवाहरूमा नयाँ उत्साह थपेको छ । रास्वपाको यो कदमले आगामी निर्वाचनमा युवा मतदाता र आन्दोलनका पक्षधरहरूलाई आकर्षित गर्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।















