Logo

५ माघ, काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले जनमत पार्टी र प्रदेश सभा सदस्य दुवैबाट हात धुँदै आफ्नो राजनीतिक यात्रालाई नयाँ मोड दिएका छन् ।

आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी उनले सोमबार विधिवत रूपमा प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका हुन् । जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेका सिंहले आफ्नै दाजु सत्यवानकुमार सिंहको नेतृत्वमा ुस्वाभिमान पार्टीु दर्ता गराएर संघीय संसद्को यात्रा तय गर्ने घोषणा गरेका छन् ।
२०७९ को निर्वाचनमा सप्तरीबाट जनमत पार्टीको तर्फबाट विजयी भएका सिंहलाई पार्टीले अर्थ समितिको सभापति हुँदै मुख्यमन्त्री जस्तो गरिमामय पदसम्म पुर्‍याएको थियो, तर पछिल्लो समय पार्टी नेतृत्वसँग बढेको दूरीले उनलाई विद्रोहको बाटो रोज्न बाध्य पारेको देखिन्छ ।

सिंह र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतबीचको सम्बन्धमा जेनजी आन्दोलनका क्रममा दरार पैदा भएको थियो । आन्दोलनको समयमा पार्टी अध्यक्षको निर्देशन बमोजिम फेसबुकमार्फत राजीनामाको घोषणा गरे पनि पछि पछि हटेपछि उनी विवादित बनेका थिए । त्यसयता पार्टीभित्र एक्लिँदै गएका सिंह र जनमतबीचको असमझदारी अन्ततः पार्टी परित्यागको तहसम्म पुगेको हो । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षका रूपमा स्थानीय राजनीतिबाट उदय भएका ४३ वर्षीय सिंहले अब आफ्नै नयाँ दलमार्फत मधेशको राजनीतिमा आफ्नो अस्तित्व सावित गर्ने चुनौती मोलेका छन् ।

मुख्यमन्त्री जस्तो कार्यकारी पद अनुभव गरिसकेका नेताले चुनावको मुखमा पार्टी र पद त्यागेर नयाँ दल खोल्नुलाई मधेशको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पदबाट बाहिरिनुपरेको इख र पार्टीभित्रको आन्तरिक द्वन्द्वले उनलाई नयाँ राजनीतिक मोर्चा बनाउन उत्प्रेरित गरेको बुझिन्छ ।

अब स्वाभिमान पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवारी दिने उनको निर्णयले सप्तरीको चुनावी अंकगणितमा कस्तो फेरबदल ल्याउँछ र जनमत पार्टीलाई कति क्षति पुग्छ भन्ने कुरा निकै रोचक हुने देखिएको छ ।


सम्बन्धित समाचार