Logo

५ मांघ,काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले देशभर भएका प्रदर्शनका क्रममा हजारौँ मानिसको मृत्यु भएको पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेका छन्। अन्तर्राष्ट्रिय स्तरमा कडा आलोचना भइरहेका बेला आएको यो स्वीकारोक्ति इरानी नेतृत्वका लागि असामान्य मानिएको छ।

शनिबार टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै खामेनीले गत डिसेम्बरको अन्त्यतिर आर्थिक सङ्कट र व्यापक राजनीतिक असन्तोषका कारण सुरु भएका प्रदर्शनमा “केही हजार” मानिसको ज्यान गएको बताएका हुन्। उनले केही मृत्यु “अमानवीय र निर्दयी अवस्थाका कारण” भएको स्वीकार गरे पनि त्यसको जिम्मेवारी इरानी सुरक्षा निकायलाई नदिई अमेरिका र अन्य विदेशी शक्तितर्फ संकेत गरे।

खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनलाई उक्साएको आरोप लगाउँदै उनलाई “अपराधी” को संज्ञा दिए। प्रारम्भमा महँगी र जीवनयापनको बढ्दो खर्चविरुद्ध सुरु भएका प्रदर्शन पछि सरकारविरोधी आन्दोलनमा रूपान्तरण भएको उनको भनाइ छ। उनले प्रदर्शनकारीहरू विदेशी शक्तिद्वारा प्रयोग गरिएको दाबी गर्दै दोषीमाथि कडा कारबाही हुने चेतावनीसमेत दिए।

मानव अधिकार संस्थाहरूले भने प्रदर्शन र सुरक्षा बलबीचको झडपमा ३ हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरेका छन्। इन्टरनेट सेवा पटक–पटक बन्द गरिएकाले वास्तविक तथ्याङ्क पुष्टि गर्न कठिन भएको उनीहरूको भनाइ छ।

खामेनीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै ट्रम्पले इरानमा “नयाँ नेतृत्व खोज्ने समय आएको” टिप्पणी गरेका छन्। पोलिटिकोसँगको अन्तर्वार्तामा उनले खामेनीलाई हिंसाका लागि जिम्मेवार ठहर गर्दै नेतृत्व गर्न अयोग्य भएको आरोप लगाए। “नेतृत्व डर र मृत्यु होइन, सम्मानमा आधारित हुनुपर्छ,” ट्रम्पले भने।

यसैबीच, खामेनीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत पनि अमेरिका विरुद्ध आरोप दोहोर्‍याउँदै हालको आन्दोलन अमेरिकाद्वारा योजनाबद्ध भएको दाबी गरेका छन्। केही साताको प्रदर्शन र सुरक्षा कारबाहीपछि तेहरानसहित प्रमुख सहरहरूमा जनजीवन क्रमशः सामान्य बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


सम्बन्धित समाचार