Logo

५ माघ,वीरगञ्ज ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका १६७ मतदानस्थलमध्ये ६२ वटालाई ‘अतिसंवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा योजना लागू गरिएको छ। बाँकी ८५ वटा मतदानस्थललाई संवेदनशील र २० वटालाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ।

निर्वाचन क्षेत्रअनुसार मतदानस्थलको संख्या फरक रहेको छ। क्षेत्र नम्बर १ मा ३४, क्षेत्र नम्बर २ मा ३८, क्षेत्र नम्बर ३ मा ४७ र क्षेत्र नम्बर ४ मा ४८ वटा मतदानस्थल तोकिएका छन्। जिल्लाभर कुल ४४१ वटा मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र रहने व्यवस्था गरिएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरूबीच समन्वय बढाइएको छ। मतदानस्थलको स्थलगत निरीक्षण, सुरक्षा योजना अद्यावधिक तथा आवश्यक जनशक्ति परिचालनको काम भइरहेको उनले बताए।

निर्वाचनको पूर्वतयारीस्वरूप गत माघ २ गते नै पर्साका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। ती कार्यालयहरूको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गस्ती र निगरानीसमेत थप कडा पारिएको छ।

यसपटक पर्सा जिल्लामा कुल ३ लाख ७६ हजार ५१३ मतदाता रहेका छन्। जसमध्ये २ लाख १२ हजार ७७ जना पुरुष, १ लाख ६४ हजार ४२१ जना महिला र १५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता रहेका छन्। मतदाताको संख्या, भौगोलिक अवस्था र सुरक्षा जोखिमको मूल्याङ्कनका आधारमा सुरक्षाकर्मीको परिचालन र व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ।


सम्बन्धित समाचार