Logo

५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि सोमबार आफ्नो गृहजिल्ला झापा पुगेका छन् ।

हवाई मार्ग हुँदै भद्रपुर विमानस्थल ओर्लिएका ओली यसपटक पनि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाटै चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । आफ्नै गढ मानिने यस क्षेत्रमा ओलीको आगमनसँगै जिल्लाको राजनीतिक माहोल एकाएक तातिएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा आफ्ना मतदातासँग भेटघाट गर्न र चुनावी रणनीति तय गर्न ओलीले आफ्नो क्षेत्रमा सक्रियता बढाएका हुन् ।

यसपटक झापा–५ को चुनावी भिडन्त निकै रोचक र चुनौतीपूर्ण हुने देखिएको छ, किनकि सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनियुक्त वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ओलीलाई टक्कर दिने पक्का भएको छ। काठमाडौंको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिएका बालेन पनि आजै झापा पुग्ने कार्यक्रम रहेको छ । जनकपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गरेलगत्तै बालेन झापा जाने तयारीमा रहेको रास्वपाले जनाएको छ ।

एमालेका दिग्गज नेता ओली र युवा पुस्तामाझ अत्यधिक लोकप्रिय बालेनबीचको यो प्रत्यक्ष प्रतिस्पर्धालाई राष्ट्रिय स्तरमै निकै चासोका साथ हेरिएको छ । एउटा अनुभवी र स्थापित राजनीतिक शक्ति तथा अर्कोतर्फ वैकल्पिक राजनीतिको लहर बोकेका युवा नेताबीचको यो ‘भिडन्त’ ले झापा–५ लाई देशकै सबैभन्दा चर्चित निर्वाचन क्षेत्र बनाइदिएको छ । दुवै प्रभावशाली नेताहरू आफ्नो चुनावी एजेण्डासहित जिल्ला केन्द्रित भएपछि झापामा अबको केही साता राजनीतिक सरगर्मी उत्कर्षमा पुग्ने निश्चित छ ।


सम्बन्धित समाचार