Logo

५ माघ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीभित्र देखिएको उम्मेदवार चयनको विवादलाई किनारा लगाउँदै नेतृत्वलाई सन्तुलित निर्णय लिन आग्रह गरेका छन् ।

सोमबार एक भिडियो सन्देश जारी गर्दै उनले आफू ताप्लेजुङबाट उम्मेदवार बन्न इच्छुक भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिने निर्णय गरिसकेपछि त्यसमा कुनै किचलो नगर्ने स्पष्ट पारेका छन् । टिकट वितरणलाई लिएर पार्टीको केन्द्रीय सचिवालयमा फरक मत दर्ता गराएका भट्टराईले अहिलेको प्राथमिकता व्यक्तिभन्दा पनि पार्टीको जित भएको उल्लेख गर्दै नेतृत्वले अझै पनि केही क्षेत्रमा उम्मेदवारहरू मिलाउन सक्ने गुञ्जायस भए विशाल छाती बनाएर निर्णय लिनुपर्ने सुझाव दिएका छन् ।

भट्टराईले भदौ २३ र २४ गतेको राजनीतिक घटनाक्रमपछि मुलुक संकटमा रहेको भन्दै फागुन २१ को निर्वाचनलाई एमालेका लागि जीवन-मरणको सवालका रूपमा चित्रण गरेका छन् । उम्मेदवार चयनमा महाधिवेशनको गुटबन्दी वा व्यक्तिगत सामीप्यताभन्दा पनि उम्मेदवारको लोकप्रियता र एमालेलाई जिताउने आधारलाई मुख्य मापदण्ड बनाउनुपर्ने उनको तर्क छ । केही निर्वाचन क्षेत्रमा स्थानीय कार्यकर्ताको भावना सम्बोधन नहुँदा पार्टी कमजोर हुने जोखिम औंल्याउँदै उनले भोलि माघ ६ गते हुने मनोनयन दर्ता अगावै सम्भव भएसम्म त्रुटिहरू सच्याउन अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका छन् ।

पार्टीभित्रका असन्तुष्टिलाई चुनावपछिको समीक्षाको विषय बनाउन प्रस्ताव गर्दै उपमहासचिव भट्टराईले अबको सम्पूर्ण मिसन ुसूर्य चिन्हु मात्र हुनुपर्नेमा जोड दिएका छन् । उनले ‘ओन्ली सूर्य चिन्ह, नो राइट, नो लेफ्ट’ को मन्त्र अघि सार्दै देशभरका पार्टी पंक्तिलाई भोलिको मनोनयन दर्तामा भव्य रूपमा सहभागी हुन अपिल गरेका छन् ।

ताप्लेजुङमा आफैँ खटिएर पार्टीले पठाएको उम्मेदवारलाई जिताउन लाग्ने प्रतिबद्धता जनाउँदै उनले व्यक्तिगत त्याग गरेर भए पनि राष्ट्रियता र समृद्धिका लागि एमालेको बहुमतको सरकार आवश्यक रहेको सन्देश दिएका छन् ।


सम्बन्धित समाचार