Logo

५ माघ, काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारीमा रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चुनावी प्रतिस्पर्धालाई सामान्य प्रक्रिया भन्दै आफू यसबाट कत्ति पनि विचलित नहुने प्रष्ट पारेकी छन् ।

सोमबार चितवनमा सञ्चारकर्मीहरूसँग संवाद गर्दै दाहालले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको र यसमा कसैसँग भिड्न डराउनुपर्ने कुनै कारण नरहेको जिकिर गरिन् । विगतमा काठमाडौँ क्षेत्र नम्बर १ बाट ‘हेभीवेट’ नेता प्रकाशमान सिंहसँग चुनावी प्रतिस्पर्धा गरेको अनुभव सुनाउँदै उनले पराजय भोग्नुपरे पनि आफूले सधैँ जोखिम मोल्न र प्रतिस्पर्धा गर्न रुचाएको स्मरण गरिन् ।

पछिल्लो समय चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चर्चित नेतृ सोबिता गौतमलाई मैदानमा उतार्ने चर्चा चुलिएसँगै राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । खासगरी ‘सोबिता कि रेणु भन्दै दुई प्रभावशाली महिला नेतृहरूबीचको सम्भावित भिडन्तलाई लिएर भइरहेको चर्चाप्रति दाहालले सहज प्रतिक्रिया दिएकी छन् । कतिपयले दुई नारीलाई एकै क्षेत्रमा भिडाउन नहुने तर्क गरिरहेका भए पनि मेयर दाहालले भने आफू यस्ता चर्चाबाट कत्ति पनि तरंगित नभएको र चुनावी मैदानमा उत्रन मानसिक रूपमा तयार रहेको बताइन् ।

दाहालले निर्वाचनमा उम्मेदवार जोसुकै भए पनि अन्तिम निर्णय जनताकै हातमा हुने कुरामा जोड दिइन् । जनताले उम्मेदवारको विगतको कर्म, कार्यसम्पादन र विकासप्रतिको प्रतिबद्धतालाई आधार मानेर मूल्यांकन गर्ने उनको विश्वास छ । भरतपुर महानगरको नेतृत्व सम्हाल्दा गरेका कामहरू नै आफ्नो चुनावी पुँजी भएको संकेत गर्दै उनले चितवन-३ को प्रतिस्पर्धालाई स्वभाविक रूपमा लिएको सन्देश दिएकी छन् । हेभीवेट उम्मेदवारहरूको सम्भावित भिडन्तले गर्दा यस क्षेत्रलाई अहिले देशकै सबैभन्दा बढी चासोको निर्वाचन क्षेत्रका रूपमा हेर्न थालिएको छ ।


सम्बन्धित समाचार