Logo

५ माघ,वीरगञ्ज । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले पर्साका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। तर टिकट वितरणमा सिफारिस विपरीत निर्णयले पार्टीभित्र असन्तुष्टि बढाएको छ।

पर्सा–१ बाट पूर्वमन्त्री प्रदीप यादवलाई उम्मेदवार बनाइएको छ। यादव सोमबार राती मात्र जसपा नेपाल छाडेर एमालेमा प्रवेश गरेका थिए। यसअघि उनी सोही क्षेत्रबाट निर्वाचित भइसकेका थिए।

पर्सा–२ बाट रिमा यादव, पर्सा–३ बाट रुपेश पाण्डे र पर्सा–४ बाट जालिम मियाँलाई टिकट दिइएको छ। पाण्डे काठमाडौंमा व्यवसाय गर्दै आएका थिए र रिमा यादव प्रदेश कमिटी वा सिफारिसबाट नआउने उम्मेदवार हुन्।

एमालेका पूर्वकेन्द्रिय सदस्य अरबिन्द सिंहले सिफारिस विपरीत टिकट वितरणलाई “नाटक मात्रै” र “मनोपरि” निर्णय भएको टिप्पणी गरेका छन्। उनका अनुसार गाउँ–गाउँमा रहेका पार्टी संगठनले जित सुनिश्चित गर्न सिफारिस गरेका उम्मेदवारको विचार नगरी बाहिरी वा नवप्रवेशीलाई टिकट दिनु पार्टीभित्रको असन्तोष बढाउने काम हो।

एमाले केन्द्रीय सदस्य विजय सरावगीका अनुसार, आज पर्साका सबै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लागेको छ। तर सिफारिस विपरीतको निर्णयले कार्यकर्ता तहमा असन्तुष्टि बढिरहेको बताइएको छ।


सम्बन्धित समाचार