५ माघ,रौतहट। आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मी बढेको छ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताबीच यसपटक पनि कडा चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाल ३३,५२२ मतसहित विजयी भएका थिए भने गुप्ताले २६,९२२ मत पाएका थिए। यसरी ६,६०० मतान्तरले विजयी भएका नेपालले आफ्नो गढ सुरक्षित राख्ने तयारीमा छन्।
पूर्वप्रधानमन्त्री नेपाल २०५६ र २०७० मा रौतहटबाट, २०७४ मा काठमाडौं–२ बाट र २०७९ मा पुनः रौतहट–१ बाट निर्वाचित भइसकेका छन्। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने उनी तत्कालीन नेकपा माओवादीका उम्मेदवार देवेन्द्र पटेलसँग पराजित भएका थिए।
राजनीतिक विश्लेषकहरूले पूर्वप्रधानमन्त्री नेपाल र गुप्ताबीचको यो प्रतिस्पर्धालाई रौतहटको प्रमुख राजनीतिक भिडन्तको रूपमा हेरिरहेका छन्। निर्वाचन नजिकिँदै गर्दा दुवै पक्षले आफ्नो प्रचार–प्रसार र क्षेत्रीय अभियानलाई तीव्र बनाएको बताइएको छ।















