५ माघ, काठमाडौं। निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयनका क्रममा बाजागाजा तथा तडकभडक नगर्न कडा चेतावनी दिएका छन्।
सोमबार आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा गरिने तडकभडकलाई कानुन र आचारसंहिताले पूर्ण रूपमा निषेध गरेको स्पष्ट पारे। यस्ता गतिविधि नगर्न सचेत गराउँदै उनले आचारसंहिता उल्लंघन गर्नेविरुद्ध निर्वाचन आयोगले कठोर निर्णय लिने चेतावनी दिए।
“उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक हुन्छ। यो पूर्ण रूपमा कानुनले निषेध गरेको छ, आचारसंहिताले पनि निषेध गरेको छ,” भण्डारीले भने। उनले सबै उम्मेदवार र दललाई निष्ठापूर्वक आचारसंहिताको पालना गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गरे।
प्रमुख कार्यवाहक आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुने दाबीसमेत गरे। आचारसंहिताले निषेध गरेका कामहरू नगरी नियमको पालना गरिएमा देशभित्र र विदेशमा रहेका सबै सरोकारवालाको नजरमा पनि निर्वाचनप्रति विश्वास बढ्ने उनको भनाइ थियो।















