Logo

५ माघ,बुटवल । मौलाकाली केवलकार र लुम्बिनी केवलकारबीच आपसी सहकार्य गर्दै सेवाग्राहीलाई छुट दिने सम्झौता भएको छ। सम्झौता अनुसार अब एउटा केवलकारमा यात्रा गरेका यात्रुले अर्को केवलकारको यात्रामा २० प्रतिशत छुट पाउने भएका छन्।

सम्झौतामा मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले हस्ताक्षर गरेका छन्। सम्झौता लागू भएसँगै कुनै एक केवलकारको यात्रा गरिसकेका सेवाग्राहीले अघिल्लो यात्राको टिकट देखाएर अर्को केवलकारमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

मौलाकाली केवलकारका स्टेशन म्यानेजर पौडेलले हालका लागि टिकट देखाएर छुट उपलब्ध गराइने जानकारी दिँदै यस प्रक्रियालाई अझ व्यवस्थित र सहज बनाउने विषयमा काम भइरहेको बताए। “अहिले टिकट देखाएरै छुट लिन सकिन्छ, आगामी दिनमा यसलाई थप प्रविधिमैत्री र सरल बनाउने योजना छ,” उनले भने।

लुम्बिनी केवलकारका म्यानेजर घिमिरेका अनुसार यो छुट सुविधा अघिल्लो केवलकारको टिकट काटेको मितिले तीन महिनासम्म मान्य हुनेछ। उनका अनुसार एकअर्काको गन्तव्य प्रवर्द्धन गर्ने यो सहकार्यले पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्नेछ।

आइएमई समूहद्वारा प्रवर्द्धित यी दुवै केवलकारबीचको सम्झौताले आपसी सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको पौडेलको भनाइ छ। यसबाट लुम्बिनी र मौलाकाली दुवैतर्फका सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको छ।

मौलाकाली केवलकार नवलपुरको गैंडाकोटमा अवस्थित छ, जहाँबाट १५औँ शताब्दीदेखिको ऐतिहासिक महत्व बोकेको प्रसिद्ध मौलाकालिका मन्दिर पुग्न सकिन्छ। यस्तै, लुम्बिनी केवलकार बुटवलको गोलपार्कमा अवस्थित छ, जहाँबाट पाल्पाको वसन्तपुर डाँडामा रहेको माँ कामाख्या मन्दिरसम्म पुग्न सकिन्छ।

मौलाकाली केवलकारको टप स्टेशनमा सुविधासम्पन्न होटल सञ्चालनमा रहेको छ भने वसन्तपुरमा १५० कोठासहितको अत्याधुनिक सुविधा सम्पन्न होटल निर्माणको चरणमा रहेको जनाइएको छ।


सम्बन्धित समाचार