Logo

 ६ मांघ,काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता आज देशभर हुँदैछ। निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि तडकभडक नगर्न, शान्तिपूर्ण र मर्यादित रूपमा निर्वाचन कार्यालयमा उपस्थित हुन सबै राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ। भीडभाड कम गर्ने र प्रक्रिया सहज बनाउने उद्देश्यले प्रमुख राजनीतिक दल तथा उम्मेदवारका लागि मनोनयन दर्ताको समयसमेत निर्धारण गरिएको आयोगले स्पष्ट पारेको छ।

यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये समानुपातिक प्रणालीमार्फत ११० जना र प्रत्यक्ष प्रणालीमार्फत १६५ जना सदस्य निर्वाचित हुने व्यवस्था छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराइसकेको छ। निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोट प्रक्रिया पनि सुरु भइसकेको आयोगले जनाएको छ।

अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने बाँकी दलले पनि आज बिहानसम्म छनोट प्रक्रिया पूरा गर्ने जनाएका छन्। नेपाली कांग्रेसले केही निर्वाचन क्षेत्रमा उम्मेदवार छनोटको प्रक्रिया जारी रहेको बताएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भने सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ। एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले उम्मेदवारलाई आधिकारिक पत्रसमेत प्रदान गरिसकेका छन्।

आयोगको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुनेछ। मनोनयन दर्ताका लागि उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा ल्याउनुपर्नेछ। साथै, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्ने आयोगले जनाएको छ। अन्य केही आवश्यक कागजातसमेत साथमा ल्याउन आयोगले आग्रह गरेको छ।

आयोगले निर्वाचनका लागि सबै तयारी पूरा भएको दाबी गर्दै आज उत्साहपूर्ण वातावरणमा देशभर मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुने विश्वास व्यक्त गरेको छ। विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो।


सम्बन्धित समाचार